निःशुल्क रगत उपलब्ध गराउन दुई करोडको अक्षयकोष
थानकोट।
नागरिकलाई निःशुल्क रगत उपलब्ध गराउन काभ्रेपलाञ्चोकमा दुई करोड रुपैयाँको अक्षयकोषको स्थापना गरिएको छ ।
नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाको आयोजनामा बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाको उपस्थितिमा उक्त कोष स्थापना गरिएको हो ।
उनले सो अवसरमा प्रदेशस्थित स्वास्थ्य मन्त्रालयले स्वास्थ्यसम्बन्धी थप कार्य तथा रगत सङ्कलनार्थ आवश्यक स्वास्थ्य सामग्री सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गरे ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका जिल्ला शाखा सभापति देवेन्द्र भैलले जिल्लावासी कोही पनि रगत अभावका कारणले मर्नु नपरोस भन्न अभियान थालिएको जानकारी दिए । उनका अनुसार जिल्लास्थित रेडक्रसले २४ सै घण्टा ब्लड बैंक सञ्चालन गर्दै आएको र त्यसलाई थप ब्यवस्थापन तथा प्रविधिमैत्री बनाउन छ । सो अवसरमा भैलले कोषमा ५० हजार रुपैयाँ प्रदान गर्ने घोषणा गरे ।
अक्षयकोषका लागि जिल्लामा रहेका ३८ वटा उपशाखाले एक लाखका दरले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
बनेपा उपशाखाले १० लाख, कुशादेवी उपशाखा ५ लाख, पनौती उपशाखाले १ लाख ११ हजार रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) काभ्रेपलाञ्चोक जिल्ला कमिटीका उपसचिव रत्नकुश रञ्जितले १ लाख एक हजार, उद्योग वाणिज्य महासङ्घका केन्द्रीय उपाध्यक्ष सुरकृष्ण वैद्यले ५५ हजार, बनेपाका देशसुधार भैलले ५० हजार, बनेपा नगरप्रमुख शान्तिरत्न शाक्यले ५० हजार, पाँचखाल नगरप्रमुख महेश खरेलले ५० हजार रुपैयाँ सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।












