कुलेखानी जलाशयमा पानी जम्मा हुने अधिकतम सीमा समुद्री सतहबाट १५३० मिटर हो भने यसको न्यूनतम सीमा १४८४ मिटर हो । आइतबार कुलेखानी जलाशयमा पानीको सतह १४९२.७ मिटर रहेको छ ।
जबकी गतवर्ष साउन अन्तिममा कुलेखानीको जलाशय १५१३ मिटर पुगेको थियो । कुलेखानी पूरै भरिँदा करिब ८५ लाख घनमिटर पानी जम्मा हुन्छ । त्यसक्रममा २२० हेक्टर पूर्णरुपमा डुबानमा पर्छ ।
वर्षायाम सुरु भए पनि कुलेखानी जलाधार क्षेत्रमा राम्रोसँग पानी नपरेकोले जलासयमा पानी जम्मा नभई रित्तिदैं गएको विद्युत प्राधिकरणका अधिकारीहरुले जानकारी दिएका छन् ।
६० मेगावाट क्षमताको कुलेखानी १, ३२ मेगावाटको क्षमताको कुलेखानी २ र कुलेखानी तेस्रो आयोजनाबाट १४ मेगावाट गरी कुल १०६ मेगावाट विद्युत् उत्पादन हुने गर्छ ।
नेपालको एक मात्र जलाशययुक्त आयोजना भएकोले वर्षातमा पानी जम्मा गरी हिँउदको समयमा पूर्णक्षमतामा विद्युत उत्पादन गरी काठमाडौं उपत्यकामा प्रवाह गरिदैं आएको थियो ।
यसपटक वर्षातको समयमै आयोजनामा पानी सकिन लागेकोले विद्युत प्राधिकरण दबाबमा परेको छ ।
‘अझै पानी पर्ला आयोजनाको पोखरी भरिएला भन्ने आशा छ तर, पानी राम्रोसँग परेन र आयोजनास्थल नभरिए त्यसैले यो वर्षको हिउँदमा काठमाडौं उपत्यकामै विद्युतको अभाव सृजना हुनसक्छ । त्यसैले प्राधिकरणलाई चिन्ता थपेको छ’ प्राधिकरणका एक अधिकारीले बताए ।
फोटो: गणेश विष्ट


















