यस वर्षको गौरा पर्व भदौ १५ गते आइतबार मनाइने

Thankot Times

थानकोट।

यस वर्षको गौरा पर्व यही भदौ १५ गते मनाइने भएको छ ।

अठोला पञ्चांगका पञ्चांकर ज्योतिष डिल्लीराज जोशीद्वारा हस्ताक्षरित आज प्रकाशित विज्ञप्तिमा भदौ १२ देखि सुरु भई १५ गते मुख्य दिनका रूपमा मनाइने जनाइएको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘गौरा पर्व पर्वतराज हिमालय पुत्री पार्वतीको कठोर तपस्याले सफलता प्राप्त गरेको सुखद उपलक्ष्यमा वैदिक कालदेखि मनाइँदै आएको हाम्रो मौलिक सांस्कृतिक पर्व हो, गौरा पर्वमा व्रतालु नारीहरूको प्रमुख भूमिका रहेको हुन्छ ।’

विज्ञप्तिमा उल्लेख भएअनुसार भदौ १२ गते भाद्र शुक्ल पक्ष पञ्चमी तिथि बिहान ७:१० बजेसम्म सिंहलग्न र अपराह्न ३:५४ बजेसम्म पञ्चमीतिथि रहेको छ तथा यसैदिन बिरुडा (पञ्च अनाज)भिजाउने बिरुडा पञ्चमी पनि रहेको छ ।

यस्तै भदौ १३ गते बिरुडा धुने षष्ठीतिथि साँझ ५:५४ बजेसम्म रहेको छ । यसैदिनमा बिरुडा धुने र नोला (पानीको धारामा) गोरा पुजिने गरिन्छ । भदौ १४ गते गौरा सप्तमी र अमुक्ताभरण सप्तमी साँझ ७:५७ बजेसम्म रहेको छ । यसैदिन गौरा भित्र्याउने, गौरा र दुबधागो पुजन रहेको छ । भदौ १५ गते  दुर्वाष्टमी व्रत, गौरा पर्वको मुख्य दिन अठ्वाली अनुराधा नक्षत्र अपराह्न ३:५६ बजेसम्म रहेको जनाइएको छ ।

अठोला पञ्चाङ्गका अनुसार नयाँ सृष्टि, माया–प्रेमाकर्षण, शान्ति, धैर्यता, पारिवारिक मिलन, सामाजिक–सद्भाव, हर्ष र बन्धुत्वको सन्देश बोकेको यो पर्वमा मनस्विनी, शिवशक्ति माँ गौरीको तपलाई अनुसरण गरी महिला पवित्र रही, चार दिनसम्म निराहार व्रत बसी, गौरी– महेश्वरको प्रतिमा बनाई मङ्गलामुखी बाणी (सगुना) र बिरुडाको प्रसादले इच्छित फल प्राप्तिका लागि गौरी–महेश्वरको ध्यानमग्न भई पूजा–आराधना गर्ने गर्दछन् ।

महिलाले यस वर्ष दुबधागो उत्तराभिमुख भई लगाउँदा शुभ रहेको छ । आफ्नो अनुकूलता र चलनअनुसार गोरा: सेलाइने (समापन) छ ।  यसवर्ष गौरा पर्व भाद्र शुक्ल पक्षमा परेको हुँदा नौली गोरिया (नवविवाहिता नारी)ले उज्याली गोरा: मा दुबधागो लाउन पाउने हुँदा गौरा पर्व थप उल्लासमय हुनेछ ।

विज्ञप्तिमा भनिएको छ, ‘हाम्रा पञ्चतन्मात्राज्ञमा माँ गौरीको कृपादृष्टि बनिरहोस् भन्ने कामना गर्दै, अमूल्य निधि र वैभवका रूपमा रहेका हाम्रा धार्मिक र सांस्कृतिक पर्व हरितालिका तीज, गणेश चतुर्थी, ऋषिपञ्चमी र गौरापर्वको सुखद उपलक्ष्यमा व्रतालु महिला दिदीबहिनी, स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी र दाजुभाइको सुस्वास्थ, सुख, शान्ति र समृद्धिको हृदयत: मंगलमय शुभकामना व्यक्त गर्दछौँ ।’


Leave a Reply

Your email address will not be published. Required fields are marked *