इन्द्रजात्राको साइत सार्वजनिक

Thankot Times

थानकोट ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको इन्द्रजात्रा मनाउने साइत सार्वजनिक गरेको छ।

धर्मशास्त्र, ज्योतिष र संस्कृति विज्ञसँगको बैठकपछि समितिले साइत तय गरेको हो।

समितिका अनुसार, भाद्र शुक्ल द्वितीयाका दिन अर्थात् आज बिहान ०९:४६ बजे वन यात्रा सुरु भएको छ। आज राति ०९:०३ बजे इन्द्रध्वजोत्थानका लागि लिङ्गोको रूख काटिने साइत रहेको छ। काटिएको लिङ्गो भाद्र १५ गते आइतबार भोटाहिटीबाट नगर प्रवेश गराइनेछ। प्रशासन सहायक खिलहरि घिमिरेका अनुसार परम्परागत नियमअनुसार भोटाहिटीबाट नगर प्रवेश गराउने प्रथा ‘नगर प्रवेश’ भनेर चिनिन्छ।

इन्द्रजात्राको मुख्य दिन भाद्र शुक्ल चतुर्दशीमा राष्ट्राध्यक्ष र सरकार प्रमुखसहित मुख्य व्यक्तिहरुले कुमारी इन्द्रयात्रा अवलोकन गर्ने परम्परा रहेको छ। तल्लो टोलको यात्रा सोही दिन सञ्चालन हुनेछ भने माथिल्लो टोल यात्रा भद्र २२ गते आइतबार हुनेछ।

भाद्र १९ गते बिहीबार बिहान १०:३१ बजे इन्द्रध्वजोत्थानको साइत रहेको छ। नानिचा यात्रा भद्र २६ गते बिहीबार हुनेछ भने राति १०:३२ बजे इन्द्रध्वज पातन अर्थात् लिङ्गो ढाल्ने साइत तय गरिएको छ। लिङ्गो ढालेपछि राष्ट्रपति रामचन्द्र पौडेलले कुमारीको हातबाट टीकाप्रसाद ग्रहण गर्नुहुनेछ।

यसरी भाद्र शुक्ल द्वितीयादेखि आश्विन कृष्ण चतुर्थीसम्म १७ दिनसम्म इन्द्रजात्राका विभिन्न गतिविधि हुनेछन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *