मच्छेगाउँमा आज लाखे नाच प्रदर्शनी आयोजना हुँदै, २० जिल्लाका ४६ समुहले सहभागिता जनाउने
थानकोट ।
चन्द्रागिरि नगरपालिका-९ मच्छेगाउँमा वर्षेनी आयोजना हुने लाखे नाच प्रदर्शनी आज शनिबार आयोजना हुँदैछ ।
विभिन्न संघसंस्थाहरूसँगको सहकार्यमा नेपाल साँस्कृतिक कला मन्दिरले आयोजना गर्ने प्रदर्शनीमा देशभरबाट ४६ वटा लाखे नाच समुहहरूले सहभागिता जनाउने बताइएको छ ।
कार्यक्रमको सबै तयारी सकिएको छ ।
आफ्नो ठाउँको माैलिक कला र संस्कृति साटासाट गराैं नाराका साथ यसपटक आयोजना हुने कार्यक्रमको उद्घाटन प्रतिनिधि सभा सदस्य राजेन्द्र कुमार केसीले बिहान ११ बजे गर्ने तालिका रहेको नेपाल साँस्कृतिक कला मन्दिरका अध्यक्ष रमेश शाहीले जानकारी दिए ।
आधुनिक संस्कार र संस्कृतिमा रमाइरहेका युवा जमातलाई आफ्नो मौलिक कला संस्कृति र पहिचानको बारेमा अवगत गराई उनीहरुलाई प्रत्यक्ष अनुभव गराउनु नै प्रदर्शनीको मुख्य उद्देश्य रहेको शाहीको भनाइ छ ।
यसपटक प्रदर्शनीका लागि विभिन्न २० जिल्लाका ४६ लाखे नाच समुहले सहभागिताको सुनिश्चितता गरिसकेको आयोजकको भनाइ छ ।
कार्यक्रम उद्घाटन अघि बिहान १० बजेबाट र्याली सुरु हुने बताइएको छ ।












