चन्द्रागिरि नगरपालिका वडा नं. १३ बन्यो नगरको बालश्रम मुक्त १३औं वडा
थानकोट ।
चन्द्रागिरि नगरपालिका वडा नम्बर १३ पुरानो नैकाप बालश्रम मुक्त वडा घोषणा भएको छ ।
शुक्रबार एक समारोहका बीच चन्द्रागिरि नगरपालिका वडा नम्बर १३ पुरानो नैकाप क्षेत्रलाई बालश्रम मुक्त वडा घोषणा गरिएको हो ।
यो सँगै चन्द्रागिरि नगरका १५ मध्ये १३ वटा वडा बालश्रम मुक्त क्षेत्र घोषणा भएका छन् ।
पुरानो नैकाप क्षेत्रलाई बालश्रम मुक्त वडा घोषणा गर्ने सभामा बोल्दै नगरप्रमुख घनश्याम गिरीले नगरको १५ वटै वडा बालमैत्री सुशासन व्यवस्थापन भएपछि चन्द्रागिरि नगरपालिका बालश्रम मुक्त नगरको घोषणा गरिने जानकारी दिए ।
यस्तै, चन्द्रागिरि नगरपालिका उपप्रमुख बसन्ती श्रेष्ठले बालश्रम मुक्त वडा घोषणाले वडा र नगरपालिकामाथि थप जिम्मेवारी थपिएको धारणा राख्दै नगर र वडाको संयुक्त अनुगमनमा पुरानो नैकाप वडा क्षेत्रभित्र बालश्रमिक नभेटिएपछि बालश्रम मुक्त वडा घोषणा गरिएको बताइन् ।
उपप्रमुख श्रेष्ठले वडा बाल श्रम मुक्त भएकोले बालबालिकालाई श्रमजन्य काममा नराख्न र काम नगराउन वडाबासीलाई सचेत गराइन् ।
वडालाई बालश्रम मुक्त वडा घोषणा सभामा बोल्दै चन्द्रागिरि वडा नम्बर १३ का वडा अध्यक्ष श्रीकृष्ण खत्रीले वडालाई बालश्रम मुक्त घोषणा गर्नका लागि लगातारको प्रयासपछि सफल भएको बताउँदै बालश्रम मुक्त वडा घोषणा गर्नको लागि वडामा रहेका संघसंस्था, उद्योगी व्यवसायी, स्वास्थ्यकर्मी, जनप्रतिनिधि, विद्यालय, संचारकर्मी, वडाबासीलगायतको सहयोगबाट सम्भव भएको धारणा राखे । उनले बालश्रम मुक्त वडा घोषणा भएसँगै वडा भित्र बालबालिकालाई श्रमजन्य कार्यमा नलगाउन र नराख्न आग्रह गरे । सो अनुरोधको विरुद्ध भएको पाइएमा कानून बमोजिम हुने उनको भनाइ थियो ।
चन्द्रागिरि नगरपालिका, चन्द्रागिरि नगरपालिका वडा नम्बर १३, सो वडाको बाल अधिकार समिति, वर्ल्ड भीजन इन्टरनेशनल लगायत सहयोगमा उक्त वडा बालश्रम मुक्त वडा घोषणा गरिएको हो ।
चन्द्रागिरि वडा नं. १ दहचोक र वडा नं. १२ बलम्बु बालश्रम मुक्त वडा घोषणा हुन बाँकी छन् ।
वडा नं. १ यही भदाै १५ गते बालश्रम मुक्त वडा घोषणा हुने तय भएको छ।












