आज गाैरा पर्व: चन्द्रागिरिमा सुदूर र मध्यपश्चिमबासीको बस्ती बढ्यो, गौरा पर्व यतै सर्यो
थानकोट ।
सुदूरपश्चिम प्रदेशमा मनाइने गौरा पर्वको मुख्य दिन आज दुर्वाष्टमी अर्थात् अठ्यावाली मनाइँदै छ ।
हिजो साँझ गौरा घरमा भित्र्याएको गौरालाई आज बर्तालु महिलाले गौरा मन्दिरको गौरा खला (आँगन)मा लगेर पूजा गर्ने चलन रहिआएको पण्डित जयानन्द भट्टले बताए ।
गौराघरबाट गौरालाई सिङ्गारेर गौरा खलामा लग्ने गरिन्छ । सोही खलामा महिलाले सामूहिक अठ्यावाली गाउँदै पूजा गर्ने चलन छ । गौराको उत्पत्ति, महेश्वरसँगको विवाहलगायत प्रसंग बर्तालु महिलाले फागमार्फत नै भन्ने गरेका छन् । बर्तालुले गौराको पूजन गरिसकेपछि मुख्य प्रसादका रूपमा रहेको बिरुडाले आफ्ना श्रीमान्, छोराछोरी र आफन्तजनको चिरायु दीर्घायुको कामना गर्दै टाउको पुज्ने गर्दछन् । पुरुषहरूले ठाडोखेल, ढुस्को धमारीलगायत ऐतिहासिक संस्कृतिमा आधारित खेलहरू खेल्ने गर्दछन् ।
महिलाले आफ्नो अटल सौभाग्य, समृद्धि, सन्तान र परिवारमा सुख, शान्तिका लागि व्रत बसी पूजाआजा गर्ने मान्यता रहेको संस्कृतिका जानकार आचार्य विष्णुदत्त भट्टले बताए । सुदूरपश्चिमेलीहरूले दसैँभन्दा पनि बढी महत्वका साथ यस पर्वलाई मनाउने गरेका छन् । त्यसैले गौरामा परदेश एकाहरू पनि घर फर्किने गरेका छन् । गौरामा विवाहित चेलीहरू पनि माइत आउने चलन छ ।
गौरापर्वकै अवसरमा सुदूरपश्चिम प्रदेशमा आइतबार र सोमबार सार्वजनिक बिदा दिइएको छ । सरकारले आइतबार (भदौ १५) र प्रदेश सरकारले भदौ १६ गते सोमबार गौरा पर्वको बिदा दिएपछि सुदूरपश्चिममा दुई दिन सार्वजनिक बिदा कायम भएको हो ।
यसैबीच सुदुरपश्चिम-चन्द्रागिरि समाजले चन्द्रागिरि नगरपालिका ०६ स्थित मातातीर्थ कुण्डमा गाैरा पर्व मनाउने भएको छ । चन्द्रागिरि नगर क्षेत्रमा बसोबास गर्ने सुदुरपश्चिम बासीले सोका लागि तयारी गरेका हुन् ।


















