आज राष्ट्रिय सभा बैठक बस्दै
थानकोट ।
संघीय संसद्अन्तर्गत राष्ट्रिय सभाको बैठक आज बस्दै छ ।
बैठक दिउँसो सवा ३ बजे बस्नेछ ।
बैठकमा राष्ट्रि सभा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएकोसम्बन्धी पत्रको व्यहोरा जानकारी गराउनेछन् ।
विधायन व्यवस्थापन समिति सभापति तुलसाकुमारी दाहालले ‘संघीय निजामती सेवा विधेयक, २०८० सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन’ सभासमक्ष पेस गर्ने कार्यसूची छ ।
राष्ट्रिय सभाका सचिव डा. सुरेन्द्र अर्यालले ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२’मा प्रतिनिधिसभाबाट प्राप्त सन्देश सभामा टेबुल गर्ने सम्भावित कार्यसूची छ ।
बैठकमा उपप्रधानमन्त्री एवं अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक,२०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।












