चन्द्रागिरि नगरका सबै १५ वटै वडालाई आन्तरिक राजश्व कार्यालय कलंकीले पत्र काटेपछि…..
थानकोट ।
चन्द्रागिरि नगरपालिका क्षेत्रमा व्यापार, व्यवसाय सञ्चालनका लागि आन्तरिक राजश्व कार्यालय कलंकीमा विवरण दर्ता गरिएका कतिपय करदाताहरूले लामो समयदेखि मूल्य अभिवृद्धि कर विवरण नबुझाएपछि सो विवरण उपलब्ध गराउन आन्तरिक राजश्व कार्यालयले सहयोग माग्दै चन्द्रागिरि नगरपालिकासँग पत्राचार गरेको छ ।
भदाै ४ गते सो कार्यालयले चन्द्रागिरि नगरपालिकाका सबै वडालाई पत्र लेख्दै लामो समयदेखि कर विवरण नबुझाउने व्यवसायीको नाम तथा भ्याट नं. नै वडागत रुपमा पठाएको हो ।
कार्यालयबाट पटकपटक सम्पर्कको प्रयास हुँदा समेत ती व्यवसायीहरू सम्पर्क हुन नसकेपछि सहयोग एवं समन्वयका लागि चन्द्रागिरिका सबै वडामा पत्राचार गरिएको आन्तरिक राजश्व कार्यालय कलंकीका कर अधिकृत शेखर भुसालले थानकोट टाइम्सलाई जानकारी दिए । उनका अनुसार कार्यालयमा ननफाइलर रहेको करदाताले २०८१ साल चैत्र मसान्तसम्मको आफूले बुझाउनु पर्ने मूल्य अभिवृद्धि कर विवरण र कर नबुझाएको भए बुझाउन बाँकी कर विवरण, सो विवरण बमोजिमको कर र ब्याजको २५ प्रतिशत रकम २०८२ साल पुस मसान्तसम्ममा बुझाएमा मूल्य अभिवृद्धि कर ऐन, २०५२ बमोजिम लाग्ने जरिवाना, थप दस्तुर र बाँकी ब्याज मिनाहा हुनेछ ।













