नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकका निर्णय सार्वजनिक
थानकोट ।
नेपाली कांग्रेसको पछिल्लो केन्द्रीय कार्यसम्पादन समिति बैठकका निर्णय शनिबार (भदौ २८) सार्वजनिक गरिएको छ ।
भदाै २४ गतेको ‘जेनजी’ प्रदर्शनकारीको आक्रमणबाट घाइते भएर पार्टी सभापति शेरबहादुर देउवा अस्पतालमा उपचाररत रहेकाले बैठकको नेतृत्व उपसभापति पूर्णबहादुर खड्काले गरेका थिए ।
शुक्रबार (भदौ २७) भर्चुअल माध्यमबाट बसेको बैठकमा कार्यसम्पादन समितिका पदाधिकारी र सदस्यका अतिरिक्त सातै प्रदेशका सभापति तथा कांग्रेसबाट बनेका मुख्यमन्त्रीहरू पनि सहभागी भएका थिए । जेनजी आन्दोलनपछि उत्पन्न परिस्थितिका विषयमा समीक्षा गर्दै पार्टीको आउँदो रणनीति तय गर्न बसेको बैठकका निर्णयमा धेरै विषय समेटिएको छ । तर, के कारणले उपसभापतिको नेतृत्वमा बैठक बस्नुपरेको भन्ने निर्णयमा खुलाइएको छ ।
यही भदौ २४ गते प्रदर्शनकारीले सभापति देउवा र उनकी पत्नी आरजु राणालाई घरभित्रै प्रवेश गरी कुटपिट गरेर सख्त घाइते बनाएका थिए । उनीहरूका घरमा तोडफोड र आगजनी गरेका थिए । घाइते भइसकेपछि सुरक्षाकर्मीबाट उद्धार गरिएका उनीहरू हाल अस्पतालमा उपचाररत छन् ।
कार्यसम्पादन समितिको निर्णयमा उनीमाथि गरिएको आक्रमण, बैठकमा अनुपस्थिति हुनाको कारण मात्र नखुलाएको होइन, देउवाको स्वास्थ्यलाभको कामना समेत गरिएको छैन ।
पार्टी सभापतिबारे विषय प्रवेश नै नगरेको निर्णयमा आन्दोलनका मृतकप्रति श्रद्धाञ्जली र घाइतेको उपचारको प्रबन्ध गर्न ध्यानाकर्षण भने गराइएको छ ।
“बैठकले पछिल्लो आन्दोलनमा जीवन गुमाएका युवाहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेको छ । सम्पूर्ण घाइतेको सम्पूर्ण उपचार प्रबन्ध गर्न ध्यानाकर्षण गराएको छ,” निर्णयमा भनिएको छ, “सिंहदरबारसहित देशभर जलेका राज्य, निजी क्षेत्र र समग्र संरचनाको क्षति आकलन गर्दै अविलम्ब पुनर्निर्माण लागत र योजना तर्जुमा गर्न ध्यानाकर्षण गराउने निर्णय बैठकले गरेको छ ।”
योसँगै पार्टीमा बैठकबाट सभापतिप्रति न्यूनतम संवेदना समेत देखाउन नसकेको भनेर प्रश्न उठाइएको छ । बैठकको नेतृत्व गरेका खड्कामाथि पार्टी सदस्यहरूले प्रश्न उठाएका थिए । त्यसपछि खड्काले पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेललाई प्रश्न गरेका थिए । तर, मुख्यसचिवले उक्त निर्णय आफूले तयार नगरेको बताएपछि अर्को प्रश्न थपिएको छ ।
“सभापतिज्यूमाथि जबरजस्ती घरमै पसेर पासविक आक्रमण भएको, घरमा आगो लगाइएको र उपचारमा रहेको अवस्थामा बसेको कार्यसम्पादन समितिको बैठकको निर्णयमा सामान्य स्वास्थ्यलाभ पनि नभएको देखेपछि बैठकको अध्यक्षता गर्नुभएका उपसभापति पूर्णबहादुर खड्काले नै मुख्यसचिवलाई सोध्नुभएको रहेछ,” कांग्रेसका एक केन्द्रीय सदस्यले भने, “उहाँले त निर्णय तयार पार्दा आफू संलग्न छैन, भन्नुभएछ । जबकि, मुख्यसचिवकै हस्ताक्षरमा निर्णय सार्वजनिक भएको छ ।”
ती केन्द्रीय सदस्यले निर्णयबाट कांग्रेस संवेदनाहीन साबित भएको भन्दै मुख्यसचिवको भनाइबाट अरू प्रश्न पनि उब्जिने बताए ।
केन्द्रीय सदस्य उमेशजंग रायमाजीले भने कार्यसम्पादन समितिले सिंगो कांग्रेसलाई प्रतिनिधित्व गर्न नसकेको टिप्पणी गरे । उनले मानवअधिकारप्रतिको संवेदना, संविधानको ज्ञान र राजनीतिशास्त्रको अध्ययन समेत भएका व्यक्तिहरूलाई राखेर बैठक बस्न आवश्यक भएको औँल्याए । अब बस्ने बैठक कार्यवाहक सभापति तोकिएर मात्र बस्नुपर्नेमा उनले जोड दिए ।
“कार्यसम्पादन समितिको बैठक २१, २२ गते बसेको होइन । २३ र २४ गतेको आन्दोलन र घटना घटेपछिको बैठकले त्यसबारे कांग्रेसको प्रतिनिधित्व गर्ने धारणा दिन सक्नुपर्थ्यो, दिन सकेको देखिएन,” रायमाझीले भने, “सभापतिको मात्रै कुरा भएन, कांग्रेस मानवअधिकार र व्यक्तिगत स्वतन्त्रताको पक्षमा रहेको पार्टी हो, मानवअधिकार प्राण हो, यस्ता संवेदनशील विषयमा प्रस्ट धारणा राख्न नसक्ने संयन्त्रले कांग्रेसलाई प्रतिनिधित्व गर्न सक्दैन ।”













