काठमाडौं उपत्यका छाड्नेको संख्या बढ्यो, तीन दिनमै ४ लाख यात्रु बाहिरिए

Thankot Times

थानकोट ।

यातायात व्यवस्था विभागले चाडपर्वलाई मध्यनजर गर्दै यातायात सेवालाई प्रभावकारी बनाउनका लागि सबै तयारी भएको जनाएको छ।

मंगलबार यातायात विभागमा यातायात व्यवसायी लगायत सरोकारवाला निकायसँगको छलफलका क्रममा विभागका महानिर्देशक राजीव पोखरेलले चाडपर्वमा सुरक्षित यात्रा गराउनका लागि विभागका तर्फबाट सबै तयारी भएको बताएका हुन्।

उनले सडक क्षेत्रको सुशासन कायम गरेर यात्रुहरूलाई सुरक्षित साथ गन्तव्यतर्फ पुराउनका लागि सबै निकायबीच सहकार्य जरुरी रहेको उल्लेख गरे। चाडपर्वमा समयमा सडक अवरुद्ध हुन नदिन ठाउँ ठाउँमा सडक विभागसँगको सहकार्यमा डोजर लगायतको व्यवस्था गरिने उनले बताए। पोखरेलले भाडा दरलाई पारदर्शी बनाउन यात्रु सहायता कक्ष लगायत विभिन्न स्थानमा भाडा दरको बोर्ड राखिने उल्लेख गरे।

छलफल कार्यक्रममा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले पछिल्लो तीन दिनमा करिब ४ लाख यात्रुले उपत्यका छाडेको जानकारी दिए। यसअघिको वर्षमा घटस्थापनादेखि फूलपातीसम्म अत्यधिक चाप देखिए पनि यस वर्ष अहिलेदेखि नै यात्रुको चाप बढेको उनले बताए। सिटौलाले यात्रुहरूलाई सेवा दिन यातायात व्यवसायीहरू तयार रहेको भन्दै सरकारका निकायहरू पनि सेवाका लागि तयार रहनुपर्ने बताए।

त्यस्तै यातायात व्यवसायीहरूले अहिलेको विषम परिस्थितिमा भाडादर वृद्धि नहुने र सेवामा ध्यान केन्द्रित गर्ने प्रतिबद्धता जनाएका छन्।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले अग्रिम टिकट खुला गर्ने भन्दा पनि सवारी साधनको उपलब्धताका आधारमा टिकट काटिने बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *