काठमाडौं महानगर क्षेत्रमा चम्किला बत्ती जडानको कार्य तिव्र, १२ वटाले दिन थाले उज्यालो
थानकोट ।
काठमाडौं महानगरपालिकाले महानगरभित्रका विभिन्न स्थानमा ६२ वटा हाइ मास्ट लाइट (अत्यधिक उज्यालो दिने विद्युतीय बत्ती) जडान गर्ने भएको छ ।
उज्यालो महानगर योजना अन्तर्गत महानगरपालिकाले करिब १० करोडको लागतमा हाइ मास्ट लाइट जडान गर्न लागेको मेयर बालेन शाहले जानकारी दिए ।
उनका अनुसार हालसम्म १२ वटा लाइट जडान भएर बल्न थालिसकेको र दशैंअघि नै बाँकी सबै लाइट जडान गरिसक्ने योजना छ । यी लाइटहरू कहाँकहाँ जडान गर्न लागिएको भन्ने मेयर शाहले खुलाएका छैनन् । सामाजिक सञ्जालमा पोस्ट गर्दै मेयर शाहले विगत तीन वर्षदेखि रोकिएको उज्यालो महानगर योजना अब अघि बढाउन लागिएको उल्लेख गरेका छन् ।
यस्तै अघि आर्थिक वर्षमा जडान गरिएका सोलारमा आधारित सडक बत्तीलाई विद्युतीय बत्तीले विस्थापित गरिसकिएको उनले बताए । मेयर शाहले करिब ८५ करोडको स्ट्रिट लाइट (सडक बत्ती) खरिद तथा जडानका लागि तयारी अन्तिम चरणमा पुगेको बताएका छन् ।
उक्त परियोजनाले पूर्णता पाएपछि काठमाडौं महानगर रात्रिकालीन समयमा पनि पूर्ण उज्यालो रहने उनको भनाइ छ । हाइ मास्ट लाइट भन्नाले अग्लो पोल वा टावरमा राखिने अत्यधिक उज्यालो दिने विद्युतीय बत्ती हो । यो रंगशालाहरूमा जडान गरिने फ्लड लाइट सरह नै हो ।
यो प्राय: २० देखि ५० मिटर अग्लो पोलमा जडान गरिन्छ । एउटै पोलमा धेरै उज्यालो दिने लाइटहरू जडान गरिएको हुन्छ ।
यस्ता लाइटलाई विमानस्थल, धेरै भीडभाड हुने चोक, चौतारा, औद्योगिक क्षेत्र, राजमार्ग, रंगशालाहरूमा प्रयोग गर्ने गरिन्छ ।












