चन्द्रागिरि-मातातिर्थ व्यापार महोत्सवः आज शुक्रबार गायिका रचना रिमालले स्टेज तताउने
थानकोट ।
चन्द्रागिरि नगरपालिका वडा नं. ६ बालागाउँस्थित मातातिर्थ चाैरमा जारी दोश्रो चन्द्रागिरि-मातातिर्थ साँस्कृतिक व्यापार पर्यटन महोत्सवकाे राैनक बढ्दो छ ।
असोज २ गतेदेखि जारी महाेत्सवमा दर्शकहरुको सहभागिता दिनप्रति दिन बढ्दै गएको आयोजक मातातिर्थ संरक्षण तथा विकास संस्थाले जनाएको छ।
मातातीर्थ संरक्षण तथा विकास संस्थाको आयोजनामा सञ्चालन भइरहेको महोत्सवमा दैनिक राष्ट्रिय कलाकारहरुले आफ्नो कलाको बेजोड प्रस्तुति दिँदै आएको छन् ।
महोत्सवमा स्थानीय सिपबाट उत्पादन भएका हस्तकला तथा कृषि औजारको प्रदर्शनीका साथै ग्रामीण प्रविधि सम्बन्धी गतिविधिको प्रदर्शनी, अटोमोबाईल प्रदर्शनी, समेत समावेश गरिएको छ ।
साथै दैनिक उपभोग्य सामानको बिक्री तथा प्रदर्शनी, औद्योगिक उत्पादनको बिक्री एवं प्रदर्शनी, सुचना तथा विज्ञान प्रविधिको बिक्री तथा प्रदर्शनी समावेश गरिएको छ ।
महोत्सवका क्रममा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भैरहेको छ भने सांस्कृतिक, व्यापार तथा प्रर्यटकीय प्रदर्शनी र लत्ता कपड़ा तथा भाँडाकुँडाको प्रदर्शनी तथा बिक्री स्टलहरुसमेत राखिएको मातातिर्थ संरक्षण तथा विकास संस्थाका अध्यक्ष शान्त उदासले जानकारी दिए ।
महाेत्सव अन्तर्गत आज शुक्रबार अपरान्हबाट पछिल्लो समय चर्चामा रहेकी रचना रिमाल लगायतका कलाकारले प्रस्तुति दिने बताइएकाे छ ।
महोत्सव असोज १३ गतेसम्म जारी रहनेछ ।












