दशैंको फूलपातीको दिन बिहानैदेखी वर्षा, कस्तो रहला दिनभरको माैसम ?
थानकोट।
चन्द्रागिरि नगर क्षेत्रमा अहिले बिहान वर्षा भइरहेको छ ।
हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर रही स्थानीय वायुको समेत प्रभाव रहेको छ ।
देशभर साधारणतया बदली रहेको छ । हाल वाग्मती प्रदेशका केही स्थानमा, कोसी, गण्डकी र सुदूरपश्चिमका एक–दुई स्थानमा हल्का पानी परिरहेको जल तथा मौसम विज्ञान विभागका मौसमविद् सञ्जिव अधिकारीले जानकारी दिए ।
“हाल वाग्मतीका केही स्थानमा, कोसी, गण्डकी र सुदूरपश्चिमका एक–दुई स्थानमा हल्का पानी परिरहेको छ,” मौसमविद् अधिकारीले भने ।
हाल परिरहेको पानी केही समय रोकिएर दिउँसो फेरि हल्का पर्ने उनले बताए । “बिहान परेको पानी केही समय रोकिएर फेरि दिउँसो पर्न थाल्छ, निरन्तर पानी परिरहने भने हुँदैन,” उनले भने ।
आज (असोज १३) दिउँसो कोसी, बागमती, गण्डकी प्रदेशका पहाडी भू–भागका धेरै स्थानहरूमा वर्षाको सम्भावना छ । कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको पनि मौसमविद् अधिकारीले जानकारी दिए ।
बाँकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा तथा बाँकी तराई भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।
राति, गण्डकी र सुदूरपश्चिम प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने छ । बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानहरूमा, कोसी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ ।












