दशैं मान्न काठमाडाैं उपत्यकाबाट साढे ५ लाख जना यात्रु बाहिरिए, तीन लाख जना यात्रु भित्रिए

Thankot Times

थानकोट ।

दशैं मान्न घटस्थापनादेखि आज(मंगलबार) बिहानसम्ममा ५ लाख यात्रुले काठमाडौं उपत्यका छाडेका छन् ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार पछिल्लो नौं दिनको अवधीमा १ लाख ८९ सवारी साधनमार्फत ५ लाख ५३ हजार २ सय ६१ जना यात्रुले दशैं मान्न उपत्यका छाडेका छन् ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षकसमेत रहेका प्रवक्ता नरेशराज सुवेदीका अनुसार नागढुङगा, भक्तपुर, साँखु, थानकोट–चित्लाङ, तिनपिप्ले, भिमढुङगा, चापागाउँ(भट्टेडाँडा) र फपिङ नाकाबाट यो संख्यामा यात्रुहरु विभिन्न सवारी साधनमार्फत आफ्नो घर फर्केका छन् ।

यो अवधीमा भने ७२ हजार ४१ सवारी साधनमार्फत २ लाख ८५ हजार ३ सय ८ जना यात्रु विभिन्न जिल्लाबाट काठमाडौं उपत्यकामा प्रवेश गरेका छन् ।

नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौंलाले भने घटस्थापनादेखि मंगलबार बिहानसम्म १० लाखको संख्यामा यात्रुहरु बाहिरिएको जानकारी दिएका छन् ।

सुवेदीका अनुसार पछिल्लो २४ घण्टा(असोज १३ गतेदेखि असोज १४ गते बिहान ६ बजेसम्म) नागढुङगा नाकामार्फत २ हजार ७ सय ७२ सवारी साधनबाट २८ हजार ५ सय ७८ जना यात्रु बाहिरिएका छन् ।

यसमध्ये ५ सय ७७ बसबाट २२ हजार ४ सय २५, ७ सय ८७ बटा ट्रकमार्फत १ हजार ४ सय ८०, ६ सय ८९ वटा साना सवारी साधनबाट ३ हजार ३ सय ७३ र १ हजार १ सय ७८ मोटरसाइकलमार्फत १ हजार ३ सय यात्रु बाहिरिएका छन् ।

यस्तै भक्तपुर नाकामार्फत ९ हजार ७ सय ७४ वटा सबै प्रकारका सवारी साधनमार्फत पछिल्लो २४ घण्टामा ३० हजार ६४ जना यात्रु बाहिरिएका छन् ।

जसअनुसार ३ हजार १२ वटा बसमार्फत १० हजार ३ सय ४० जना, १ सय २३ ट्रकमार्फत २ सय ३८ जना, ६३ वटा ट्याङ्करमार्फत १ सय ३३ जना, १ हजार ५ सय ३० सानो सवारी साधनमार्फत ४ हजार ९ सय ४६ जना, ५५ सरकारी सवारी साधनमार्फत १ सय ५० जना, ९८ वटा एम्वुलेन्समार्फत ३ सय १२ जना, २३ वटा भारतीय सवारी साधनमार्फत ८४ जना उपत्यकाबाट बाहिरिएका छन् ।

यसैगरी पछिल्लो २४ घण्टामा ४० सिडीबाट ८५ जना, ७ हजार ५ सय मोटरसाइकलबाट १३ हजार ६ सय ९४ जना र ३० वटा ट्रिपरमार्फत ४७ जना उपत्यका छाडेका छन् ।

साँखु नाकाबाट बस, ट्रक, ट्याङ्कर, सानो सवारी, सरकारी सवारी, एम्बुलेन्स, मोटरसाइकल, माइक्रो बसलगायतका ३ सय ६० सवारी साधनबाट २४ घण्टामा १ हजार १ सय ६३ जना बाहिरिएका छन् ।

थानकोट–चित्लाङ नाकामार्फत सबै प्रकारका सवारी साधनमार्फत १ सय ७ जना बाहिरिएका छन् भने तिनपिप्ले नाकामार्फत २ सय ४२ सवारी साधनमार्फत १ हजार ३ सय ५० जना बाहिरिएका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा फर्पिङ नाकामार्फत २ हजार १ सय ४४ वटा सबै प्रकारका सवारी साधनमार्फत २० हजार ५ सय ७८ जना यात्रु बाहिरिएका छन् ।

यसैगरी भिमढुङ्गा नाकामार्फत २४ घण्टामा १ हजार ४ सय ९० वटा सबै प्रकारका सवारी साधनमार्फत २ हजार ५ सय २९ जना र चापागाँउ(भट्टेडाँडा) नाकामार्फत २ सय ९ सवारीमार्फत ९ सय १५ जना यात्रु बाहिरिएका छन् ।

सुवेदीका अनुसार घटस्थापनादेखि आज(मंगलबार) बिहानसम्ममा सबैभन्दा बढी सवारी साधनको चाप र यात्रु बाहिरिने चाप गत शनिबार र आइतबार थियो ।

शनिबार मात्रै सबै नाकामार्फत १८ हजार ९ सय ८१ सवारी साधनमार्फत ८८ हजार ८ सय ९७ जना यात्रु बाहिरिएका थिए भने आइतबार १८ हजार ६ सय १३ सवारी साधनमार्फत १ लाख ११ हजार ६ सय ३९ जना यात्रु बाहिरिएका थिए ।

उनका अनुसार भदौं ३१ गतेदेखि आज बिहानसम्ममा भने १ लाख ३५ हजार ३ सय १६ सवारी साधनमार्फत ७ लाख ६९ हजार ५३ जना यात्रु काठमाडौं उपत्यका छाडेका छन् ।

विभिन्न नाका सडक खण्डमा १२ दुर्घटना

सुवेदीका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा विभिन्न नाका सडक खण्डमा १२ वटा सवारी दुर्घटना भएका छन् ।

उक्त दुर्घटनामा परेर १ जनाको मृत्यु भएको छ भने १४ जना सामान्य घाइते र १ जना गम्भिर घाइते भएका छन् ।

यो अवधीमा मापसेसम्बन्धी गतिविधिमा ९ जना चालकमाथि कारबाही गरिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *