तिहारमा काठमाडौं महानगरमा भारतीय सयपत्री प्रतिबन्ध: अनुगमनसँगै कोल्डस्टोमा निगरानी बढाइयो

Thankot Times

थानकोट।

तिहारमा भारतीय सयपत्री फूल भित्रनसक्ने आशंकामा काठमाडौं महानगरपालिकाले आज मंगलवारबाट अनुगमन सुरु गर्ने भएको छ । फ्लोरिकल्चर एसोसिएसन नेपाल र कामपा प्रहरी टोलीले आजबाट अनुगमन गर्न लागेको हो ।

कामपा प्रहरी प्रमुख राजुनाथ पाण्डेले आशंका लागेका सबै कोल्डस्टोरमा अनुगमन गर्ने जानकारी दिनुभयो । एसोसियसन र कामपा प्रहरी टोलीले संयुक्त रूपमा अनुगमन गर्न लागेको हो । प्रहरी प्रमुख पाण्डेले नेपाली किसानलाई प्रोत्साहन गर्न तिहारमा नेपाली फूलमात्र बिक्री गर्ने व्यवस्था मिलाएको जानकारी दिनुभयो । एसोसिएसन र कामपा प्रहरीले राजधानीका ३२ स्थानमा १ गतेबाट फूलमाला बिक्री सुरु गर्न लागेको हो । आयातीत र प्लास्टिकजन्य फूलमालाको प्रयोगलाई पूर्ण रूपमा निषेध गर्दै स्वदेशी उत्पादनलाई प्राथमिकता दिन महानगरपालिकाले विगत तीन वर्षदेखि तिहारको समयमा स्वदेशी फूलको प्रवर्धनका लागि बिक्री स्थल व्यवस्थापन गर्न लागेको छ ।

आयातीत र प्लास्टिकजन्य फूलमालालाई पूर्ण रूपमा निषेध गर्दै नेपाली किसानले उत्पादन गरेका फूलहरूलाई प्रोत्साहन र प्राथमिकता दिन तीन वर्षदेखि स्वदेशी फूलमात्र बिक्री गर्न थालेको हो । अघिल्ला वर्षहरूमा जस्तै यस वर्ष पनि किसानलाई बजारमा सहज पहुँच प्रदान गर्न, ढुवानीमा सहयोग गर्न र अवैध माला बिक्री गर्नेहरूमाथि कारबाही गर्न कामपाले छुट्टै योजना तयार गरेको छ । नेपाल चेम्बर अफ कमर्स र फ्लोरिकल्चर एसोसिएसन नेपालसँगको सहकार्यमा कोल्ड स्टोर र बजार क्षेत्रको अनुगमन पनि गरिनेछ ।

कामपाका मेयर बालेन्द्र साहले नेपाल सयपत्री र मखमली फूलमा लगभग आत्मनिर्भर भइसकेको अवस्थामा यसपालिको तिहारमा स्वदेशी फूलको प्रयोग गर्न आग्रह गर्नुभएको छ । ‘आफ्नो संस्कृति, नेपालमै फुलेका फूल हाम्रो पहिचान हो, यही हाम्रो सम्मान हो’ –उहाँको भनाइ थियो । नेपाल चेम्बर अफ कमर्सका केन्द्रीय सदस्य एवं कृषि, वन र जडीबुटी समितिका सभापति कृष्णमान श्रेष्ठले महानगरको यो निर्णयले नेपाली किसान र उपभोक्ता दुवैलाई खुसी बनाउने विश्वास व्यक्त गर्नुभयो ।

आयातीत र प्लास्टिकजन्य फूलको बहिष्कार गर्दै स्वदेशी फूललाई प्राथमिकता दिनु सकारात्मक काम हो । यसले बिचौलियाको प्रभाव घटाउँछ र किसानको आम्दानीमा प्रत्यक्ष फाइदा पुग्ने उहाँको भनाइ थियो । आयातीत माला प्रायः एकनासे साइजका, एकरूप धागोमा बनेका र विषादी प्रयोग गरिएका हुन्छन्, जबकि स्वदेशी माला साना–ठूला आकारका र प्राकृतिक रूपमा ओइलाउँदै गएका पुष्प व्यवसायीले बताएका छन् । फ्लोरिकल्चर एसोसिएसन नेपालका अध्यक्ष राजेशभक्त श्रेष्ठले काठमाडौं महानगरले विगत तीन वर्षदेखि आयातीत र प्लास्टिकजन्य फूलमालामा प्रतिबन्ध लगाउने अभियान निरन्तर चलाउँदै आएको बताउनुभयो । उहाँले भन्नुभयो– ‘यसलाई सफल बनाउन हामी पूर्ण रूपमा प्रतिबद्ध छौँ ।’ उहाँले पुष्प व्यवसायीहरूलाई कुनै पनि कोल्ड स्टोरमा फूलमाला भण्डारण नगर्न र स्वदेशी फूलको प्रवर्धन गर्न आह्वान गर्नुभयो ।

एसोसिएसनका महासचिव हीरामणि शर्माले भारतलगायत अन्य देशबाट सयपत्री फूल वैधानिक रूपमा नेपाल भित्रिन नसकेको स्पष्ट गर्नुभयो । ‘नेपाल सरकारले तोकेको मापदण्डअनुसार मात्र फूल आयात गर्न पाइन्छ । सयपत्रीबाट १६ किसिमका रोग फैलन नदिने मापदण्ड छ, तर अहिले कसैले त्यो मापदण्ड पूरा गरेर फूल ल्याउन सकेका छैनन् । त्यसैले अवैध रूपमा आउने फूल रोक्न महानगर र हामी सक्रिय छौँ’ –उहाँले भन्नुभयो ।

तथ्यांकअनुसार तिहारको पाँच दिनमा करिब ४० लाख माला खपत हुन्छ, जसमध्ये ३५ लाख माला हामी आन्तरिक उत्पादनबाट आपूर्ति गर्न गरिन्छ । बाँकी ५ लाख माला गाउँघरमा उत्पादन हुने ठाउँबाट आपूर्ति हुने अनुमान छ । मूल्यको हिसाबले सयपत्री मालाको मूल्य करिब १३० रुपियाँ र मखमली मालाको मूल्य ६०-६५ रुपियाँसम्म पर्ने अनुमान छ । सोभन्दा बढी मूल्यमा बिक्री भएमा महानगरले अनुगमन गर्नेछ । स्वदेशको सयपत्री फूलले राजधानीको माग धान्न सक्ने भएपछि तिहारमा भारतीय सयपत्री प्रतिबन्ध लगाउने तयारी गरेको हो । कामपा प्रहरीले तिहारका लागि करिब १५ दिनअघि नै फूल भित्र्याएर कोल्ड स्टोरमा राख्न सक्ने आशंका गर्दै निगरानी बढाएको छ ।

महानगरभित्रको फूलमाला बिक्री स्थान

–एनबी सेन्टर नयाँ बानेश्वर

–बिग मार्ट, शंखमूल

–आइप्लेक्स मल नयाँ बानेश्वर

–सेल्सबेरी मध्यबानेश्वर सपना सिजापती

–फोनेक्स टावर बत्तिसपुतली सुरज थापा

–तिनकुने चौर तिनकुने

–सिफल चौर सिफल

–ए.सी. कम्लेक्स चाबहिल

–चाबहिल गणेशस्थान, तरकारी बजार

–के एलटावर अगाडि, चाबहिल

–चाबहिल सेन्टर अगाडि

–स्वयम्भू धर्मचक्र पार्क

–कालिमाटी : कालिमाटी बाङक्वेट

–कालिमाटी : द्यौखेल

–कलंकी :भाटभटेनी

–नयाँ बजार भ्याली कोल्ड स्टोर

–माछापोखरी बुद्ध महल

–माछापोखरी गुणस्तर खाल्डा

–हाँडीगाउः ५ वडा अगाडिको डबली

–हाँडीगाउ ५ वडा गणेश मन्दिर डबली

–कोइराला स्मार्ट: २६ वडा सामाखुशी

–सेल्सबेरी महाराजगञ्ज

–गंगबु: विगमार्ट

–चप्पलकारखाना, बिगमाट

–बालुवाटार, विगमाट

–कमलादी कामपा

–पुतलीसड़क कामपा

–अनामनगर कामपा २९

–टेवाल मन्दिर परिसर

–सुन्धाराः काठमाडौं मल

–भाटभटेनी, अनामनगर

–का म.पा. २८ अद्वैतमार्ग

–न्यु प्लाजा बज्र कम्प्लेक्स

नेपाल समाचारपत्रबाट


Leave a Reply

Your email address will not be published. Required fields are marked *