आजदेखि नागढुंगा सुरुङमार्ग हुँदै निजी कार, जिप र भ्यान बाहिरिन थाले

Thankot Times

थानकोट ।

एक महिनाअघि उद्घाटन गरिएको नागढुंगा सुरुङमार्ग सोमबारदेखि निजी सवारीसाधनका लागि पनि सञ्चालनमा ल्याइएको छ ।

९ जनासम्म यात्रु क्षमता भएका कार, जिप, भ्यानलगायत निजी सवारीलाई सोमबारदेखि सुरुङ प्रयोग गरेर काठमाडौं–धादिङ आउजाउ खुला गरिएको हो ।

उद्घाटनको समयदेखि आपतकालीन सवारीलाई मात्र सुरुङ प्रयोग गर्न दिइएको थियो । सोमबार बिहान ९ बजेदेखि इमर्जेन्सी सवारी, एम्बुलेन्स, सरकारी प्लेटका सवारीसहित ९ सिटसम्मका निजी सवारीसाधनलाई आवागमन खुला गरिएको नागढुंगा सुरुङमार्ग सुरक्षा युनिटका उपप्रमुख कविराज श्रेष्ठले बताए ।

परीक्षणस्वरूप यी सवारीलाई निश्चित समयका लागि सुरुङमार्ग प्रवेश खोलिएको हो । यसपछि अन्य सवारीलाई पनि क्रमशः सुरुङ खुला गर्ने तयारी छ । ‘परीक्षणका लागि सञ्चालनमा ल्याएका छौँ । अब यो हप्ता विश्लेषण गर्छौं । चालकलाई सवारी चलाउँदाको समस्या, अनुभव के–के भयो भन्ने बुझ्छौँ,’ उनले भने ।

तत्कालका लागि निजी सवारीलाई पनि कुनै शुल्क नलाग्ने श्रेष्ठले बताए । उनकाअनुसार बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म सुरुङ सञ्चालन गरिनेछ । आज बिहानदेखि गुर्जुधारास्थित फ्लाइओभरको बाटो पनि सञ्चालन गरिएको उनले जानकारी दिए ।

सुरुङभित्र सवारी चलाउँदा निश्चित नियम निर्धारण गरिएको छ । प्रतिघण्टा ४० किलोमिटरभन्दा बढी गतिमा नचलाउन, सवारीको हेडलाइट बाल्न, गाडी टनेलभित्र नरोक्न, ओभरटेक गर्न नपाइने नियम राखिएको छ । सुरुङको नियमित सञ्चालनका लागि सुरक्षा युनिट, शुल्क संकलन गर्ने युनिटसहित सुरुङभित्रका गतिविधि सीसीटीभीमार्फत निगरानी गरेर आन्तरिक तयारी भइरहेको श्रेष्ठले सुनाए ।

करिब २९ अर्ब रुपैयाँ लगानीमा निर्मित मुलुकको पहिलो व्यवस्थित यातायात सुरुङमार्ग शिलान्यासको ७ वर्षपछि ११ साउनमा उद्घाटन गरिएको थियो । नेपालका लागि जापानी राजदूत मायदा तोरु र जाइका अध्यक्ष डा. तानाका अकिहिकोको उपस्थितिमा पूर्वाधार विकास मन्त्री सुनील लम्सालले सुरुङको उद्घाटन गरेका थिए ।

४ कात्तिक २०७६ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सुरुङ निर्माणको शिलान्यास गरेका थिए । प्रारम्भिक सम्झौताअनुसार यसको निर्माण ४२ महिनामा सकिनुपर्ने थियो । कोभिड– १९, मुआब्जा विवादलगायत कारणले निर्माणमा ढिलाइ हुन पुग्यो ।

शिलान्यासको करिब ४ वर्षपछि २२ साउन २०८० मा ‘रेस्क्यु टनेल’को ब्रेक थ्रु गरिएको थियो । ‘रेस्क्यु टनेल’ ब्रेक थ्रुको १० महिनापछि मुख्य टनेल ब्रेक थ्रु गरियो । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले ३ असार २०८१ मा मुख्य टनेलको ब्रेक थ्रु गरेका थिए । मुख्य सुरुङको लम्बाइ २.६८ किलोमिटर छ । यसबाहेक २.५५७ किलोमिटरको आपतकालीन सुरुङ छ ।

पैदलयात्री, दुईपाङग्रे सवारी, डिजेल, पेट्रोलसहित प्रज्वलनशील पदार्थ ढुवानी गर्ने सवारी सुरुङमार्गभित्र चल्न पाउँदैनन् ।

सुरुङ प्रयोग नि:शुल्क भने होइन । नियमित सञ्चालनमा आएपछि काठमाडौं भित्रिँदा र बाहिरिँदा कार र भ्यानले क्रमशः ६५ र ६० रुपैयाँ तिर्नुपर्छ । मिनीबस, टिपरले भित्रिँदा ११५, बाहिरिँदा ८० रुपैयाँ, बस र ट्रकले भित्रिँदा २६०, बाहिरिँदा २०० रुपैयाँ तिर्नुपर्ने हुन्छ । यसबाहेक हेभी ट्रकले भित्रिँदा ६०० र बाहिरिँदा २५० रुपैयाँ तिर्नुपर्ने गरी सरकारले शुल्क निर्धारण गरेको छ ।

जापान सरकारको साढे १६ अर्ब र नेपाल सरकारको ६ अर्ब लगानीमा यो सुरुङ निर्माण गर्ने गरी सम्झौता भएको थियो । तर, निर्माणको चरणमा प्रवेश गरेपछि लागत बढ्यो । यसपछि जापानले फेरि ५ अर्ब ऋण सहायता थपिदिएको थियो । यो आयोजना निर्माणको ठेक्का जापानको हाज्मा आन्दो कर्पोरेसनले लिएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *