महाकवि लक्ष्मीप्रसाद देवकोटा जयन्तीका अवसरमा उहाँका बारेमा चर्चामा रहेका केही किस्सा….

Thankot Times

थानकोट ।
नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७औँ जन्मजयन्ती आज स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै छ । महाकविको जन्मजयन्तीका अवसरमा पढाैं उहाँका बारेमा चर्चामा रहेका केही किस्सा……….

।। यस्ता थिए महाकवि ।।
महाकवि लक्ष्मीप्रसाद देवकोटा मानिसलाई मात्र होइन, पशुलाई पनि उत्तिकै आदरभावले हेर्थे । एकपल्ट त तीन खर्पन काउली बोकेर घर पुगेछन्। त्यत्रो तरकारी देखेर अत्तालिएकी पत्नी मनदेवीले भनिछिन्, ‘किन यत्रो काउली ल्याएको ?’ अहिले पनि त्यो घटना सम्झँदा हाँस्ने देवकोटाकी छोरी अम्बिका भन्छिन्, “बुबा उल्टै रिसाउनुभयो, तिमीहरूलाई मात्र मीठो खान मन लाग्छ ? गाईलाई लाग्दैन भनेर…
।। यस्ता थिए महाकवि ।।
महाकवि लक्ष्मी प्रसाद देवकोटा २०१४ साल श्रावण ११ गते डा. के.आई सिंहकाे प्रधानमन्त्रित्वमा गठन भएको मन्त्रिपरिषदमा शिक्षा तथा स्वायत्त शासन मन्त्री बने । उनको मन्त्री पद जम्मा ११० दिनसम्म (२०१४ कार्तिक २९ ) कायम रह्यो । देवकोटाले आफ्नो मन्त्रित्वकाे समयमा राष्ट्रियताकाे सन्दर्भमा एउटा महत्वपूर्ण निर्णय गरे ।
२०१४ सालसम्म नेपालमा हिन्दी भाषामा समेत नेपालीमा झैँ समान पढाइ गरिन्थ्यो, शिक्षा तथा स्वायत्त शासन मन्त्री बनेका लक्ष्मीप्रसाद देवकोटाले नेपालको राष्ट्रभाषा नेपालीबाट नै स्कुल कलेजहरूमा पढाइ हुनुपर्ने अनिवार्य नियम बसाइदिए त्यतिमात्रै हैन् नेपालका सरकारी कार्यालयहरूमा पनि राष्ट्रभाषाको अनिवार्य प्रयोगको सुरूवात गराए ।
देवकोटाकै भू-दृष्टि, पहल र सक्रियतामा कीर्तिपुरमा कम्तीमा ५ हजार रोपनी जग्गा सम्बन्धित जग्गाधनीहरूबाट उचित मुआब्जा दिएर अधिग्रहण गरियो । अनि स्थापना भयो नेपालको पहिलो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालय।
।। यस्ता थिए महाकवि ।।
लक्ष्मी प्रसाद देवकोटा जीवनको एक कालखण्डमा ३ महिनाका मन्त्री पनि भए । तर, मर्नु अघिल्लो दिन शान्त भवन अस्पतालको सैयामा आफ्नी श्रीमतीतिर पुलुक्क हेर्दै भनेछन्, ” बज्यै अब तिमीसँग कति पैसा बाँकी छ ?”
श्रीमती मनदेवीले केही बोल्न सकिनन् ।
देवकोटाले भनेछन्,” मलाई दुई रुपैयाँको पोटासियम साइनाइड किनेर ल्याइदेउ, अब म दुई दिन मात्र पनि बचेँ भने तिमीसँग मेरो कृया गर्ने खर्च पनि बाँकी हुँदैन। “
।। यस्ता थिए महाकवि ।।
विक्रम संवत् २०११ साल बैशाख १ गते गठन भएको सल्लाहकार सभाका सदस्य लक्ष्मी प्रसाद देवकोटा सभाको बैठकमा विशुद्ध नेपाली भएर पुगेका थिए, त्यो बेला तईबासी सदस्यहरूले सभामा हिन्दी भाषामा भाषण गर्न थाले । सभामा राष्ट्रभाषामा बोल्नुपर्छ भन्ने आवाजका विपरित तराईबाट प्रतिनिधित्व गर्ने सदस्यले सल्लाहकार सभा बहिष्कार गरे । दुईदिन पछि सभा पुनः सञ्चालन भयो तर तराईबाट प्रतिनिधित्व गर्ने सदस्यको बहिष्कार जारी भएपछि देवकोटालाई झोक चलेछ अनि उनले सदनमा अंग्रेजी भाषामा भाषण गर्न थाले ।

अध्यक्षको रूलिङमा देवकोटाले प्रतिउत्यूर दिएका थिए ” हिन्दी यस देशको अर्ध राष्ट्रभाषामा सदनमा बोल्न छुट पाइन्छ भने अन्तराष्ट्रिय भाषाको रूपमा मान्यता प्राप्त अंग्रेजी किन बोल्न नपाइने ? हिन्दीलाई राष्ट्रभाषा भन्ने मुलुकका समस्त कारोबार अंग्रेजीमा हुन्छन, UN मा अंग्रेजी बोलिन्छ, भारतको संसदीय भाषा अंग्रेजी छ । हिन्दी कुन जाति र कुन क्षेत्रको मातृभाषा हो ? हामी अधिकाशं हिन्दी बुझ्दैनाै तर एक दुई जना छाडे यहाँ अंग्रेजी भाषा नजान्ने सदस्य म कोही देख्दिँन ।” देवकोटाको यो कुरालाई एकपछि अर्को गर्दै सबैको समर्थन प्राप्त भएपछि तराईका सदस्यहरूले जवाफ दिने ठाउँ भएन । पछि देवकोटाले दुःखी हुँदै भने “मुलुकमा प्रजातन्त्र आअोस् भन्ने व्यक्ति म पनि थिएँ, तर प्रजातन्त्रले मेरो भाषामा नै छुरी हान्छ भन्ने मलाई के थाहा । ”

।। यस्ता थिए महाकवि ।।
महाकवि लक्ष्मी प्रसाद देवकोटा विक्रम संवत् २००२ सालमा त्रिचन्द्र कलेजमा पढाउँथे। काठमाडौँका प्रायः सबैलाई थाहा हुन्थ्यो, देवकोटाको तलब आउने दिन। त्यसैले उनीसँग उधारो माग्नेदेखि पुरानो हिसाब चुक्ता गर्नेहरूको लर्को नै लाग्थ्यो, बाटोमा। फेरी देवकोटा कसैलाई नाइनास्ती गर्न नसक्ने ! यस्तैमा एकपल्ट देवकोटा कलेजबाट तलब थापेर घर र्फकंदै थिए। मैतीदेवीमा एउटा माग्नेले चार आना मागेछ। त्यति बेला बाटोमा पैसा बाँड्दाबाँड्दै उनको खल्ती रित्तिसकेको पत्तै पाएनन्। यत्तिकैमा उनलाई झल्यास्स याद आएछ, साथीहरूले एक सय रुपियाँको नोट कोटको माथिल्लो खल्तीमा राखिदिएका छन्। वास्तवमा त्यो नोट उनको घरसम्म पुगोस् भन्ने हेतुले राखिएको थियो। तर, उनले त्यही नोट निकालेर त्यो माग्नेलाई दिन खोजे। उनीसँगै त्यति बेला कलेजकै अर्का साथी पनि थिए। उनले देवकोटाको हात ट्याप्प समाते। र, भने, सबै दिनुभयो भने छोराछोरीले के खान्छन् ?’ तर, देवकोटा मान्नेवाला कहाँ थिए र ! उत्तर दिएछन्, ‘मेरो परविारलाई भगवान्ले हेर्छ।’ त्यही पनि साथीले माग्नेको आवश्यकता चार आना मात्र भएको बताउँदै देवकोटाको ध्यान अन्यत्र मोड्न खोजे। उनले यसका लागि आफैँले खुद्रा बनाएर ल्याउने समेत आग्रह गरे। तर, देवकोटाले मानेनन्। उनले आफ्नो उठिसकेको हात नफर्किने बताउँदै माग्नेलाई सय रुपियाँको नोट नै दिए।
।। यस्ता थिए महाकवि ।।
नेपालमा धेरैले पागल भए भन्ने विश्वासमा उपचारका लागि विक्रम संवत् १९९६ सालमा महाकवि लक्ष्मी प्रसाद देवकोटा १५५ दिन राँची नर्सिङ होममा बसे । त्यसबेला उनलाई उपचार गर्ने अमेरिकन मानसिक रोग विशेषज्ञ डा. बर्कले हिल विश्वका साताैँ मनाेवैज्ञानिकका रूपमा चिनिन्थे । उनले देवकोटालाई महात्मा बुझेर खुबै आदर पनि गरेर भने ” देवकोटा जस्तो मान्छे नेपालमा जन्मने नै होइन, उनी त्यहाँ जन्मेर पागलको गन्तीमा आए । उनी नेपालमा जन्मनु भूगोलको गल्ती हो ।”
।। यस्ता थिए महाकवि ।।
लक्ष्मीप्रसाद देवकोटाको सबैभन्दा रोचक कुरा उनलाई मासु र चुरोट असाध्यै खानु पर्थ्यो। उनी एक हातले मासु खान्थे र अर्को हातले चुरोट पिउँथे। मासुको सन्दर्भमा साहित्यकार श्यामदास वैष्णव भन्छन् –
२००० सालमा काठमाडौँमा ठूलो हिमपात भयो । जसका कारण सारा बजार बन्द थियो। तर, देवकोटालाई खुब मासु खान मन लागेछ। त्यति बेला दुवै नेपाल भाषानुवाद काम गर्थे। देवकोटाको मासिक तलब थियो, ८० रुपियाँ। श्यामदासले नै डिल्लीबजारको ओरालोबाट एउटा मासु पसलेलाई फकाएर १० रुपियाँको मासु किनेर ल्याइदिए। सम्झन्छन्, “मैले मासु किनेर ल्याएको देखेर बज्यै (देवकोटापत्नी) आत्तिनुभयो। र, भन्न थाल्नुभयो, यस्तो मौसममा रूखको हाँगो भाच्चिएर मान्छे मररिहेका छन्। तपाईंले कसरी ल्याउनुभयो ?”

त्यो दिन मासु छाडेर गएका श्यामदास भोलिपल्ट बिहान देवकोटाको घर पुगेका थिए। उनी त्यति बेला छक्क परे, जब देवकोटाले मासु खाएर रातभरमिा २५-३० पेजको तयार भएको खण्डकाव्यको पाण्डुलिपि देखाए। “उहाँले राती नै तुषार वर्णन खण्डकाव्य लेख्नुभएछ,” श्यामदास भन्छन्।

।। यस्ता थिए महाकवि ।।
लक्ष्मीप्रसाद देवकोटा स्कुल जाँदा दाैरा सुरूवाल र टोपी लगाउँथे, उनी पृथ्वीमा सबैभन्दा ठुलो विषय अंग्रेजी भाषालाई मान्दथे । देवकोटा कपडा लगाउन रफ भएपनि पढाइमा टप थिए । उनलाई उनका बुबाआमा र दाजुभाउजुहरूले अब पढ्न पुग्यो भन्नुपर्थो, आराम गर्न दबाब परेको स्थितिमा पनि देवकोटा अक्षरमै आँखा जोडिरहेका हुन्थे ।
२० वर्षको उमेरमा लक्ष्मी प्रसाद देवकोटाले अर्थशास्त्र र गणित विषयमा स्नातक पास गरे उक्त समयमा नेपालबाट सो तह पास गर्ने उनी एक जना मात्र थिए । देवकोटाले स्नातक उत्तीर्ण गरेको समाचार गोरखापत्रले प्रकाशित गरेको थियो ।
।। यस्ता थिए महाकवि ।।
महाकवि लक्ष्मी प्रसाद देवकोटा विद्यार्थी कालमा कम बोल्ने, अनुशासित र अब्बल दर्जाका थिए, उनले २७ वर्षको उमेरमा चुरोट पिउन सुरु गरे जानकारहरु भन्छन् । जब उनले चुरोट पिउन सुरु गरे । उनी चेन स्मोकर बने। ठमेलदेखि डिल्लीबजारसम्म उनी चुरोट सल्काउँदै पुग्थे रे।
महाकवि लक्ष्मी प्रसाद देवकोटाको परिवार
लक्ष्मीप्रसाद देवकोटाका नौ जना छोराछोरीमध्ये हाल पाँच जीवित छन्। बाँकी चार जना बितिसके। सबैभन्दा जेठी छोरी सावित्री रेग्मी ८७ वर्षमा प्रवेश गरिसकेकी छन्। त्यसपछिको जेठो छोरा प्रकाश २२ वर्षमै बिते। देवकोटा उनको बिहे २५ वर्षमा गर्न चाहन्थे। तर, बिरामी भएको १२ घन्टाभित्रै बिते। उनको निधन देवकोटा ००७ सालअगाडि बनारसबाट फर्किएपछि भएको थियो। यसपछि जन्मिएकी छोरीको ६ महिना नबित्दै निमोनियाका कारण निधन भयो। अर्का छोरा कृष्ण १२ वर्षको उमेरमा टाइफाइडका कारण बिते। “बुबा बनारस जान ठीक पर्दा कृष्णले जुत्ता नै लुकाइदिएको थियो। तैपनि, रोकिनुभएन। पछि बुबा बनारसमै हुँदा उसको यहाँ निधन भयो,” सावित्री भन्छिन्।
लक्ष्मीप्रसादले यी तीनै जना छोराछोरीको सम्झनामा ‘मेरो तीन टुक्रा बच्चाहरू’ भनेर लेखे। यसपछि जन्मिएकी थिइन्, माइली छोरी अम्बिका रिमाल। उनी हाल मैतीदेवीस्थित देवकोटाको घरनजिकै बस्छिन्। त्यसपछिकी मीरा देवकोटाको चार वर्षअघि पेटको क्यान्सरका कारण निधन भएको थियो। अर्की छोरी मुना घिमिरे पनि मैतीदेवीमै बस्छिन्। त्यसपछिका छोरा पदम देवकोटा त्रिभुवन विश्वविद्यालयमा अंग्रेजी साहित्यका प्राध्यापक हुन्। कान्छा छोरा दीपक देवकोटा हाल अस्ट्रेलियामा छन्।
लक्ष्मीप्रसादकी दिदी लोकपि्रया जोशी पनि साहित्यकार थिइन्। उनी त्यति बेलै कविता लेख्थिन् र कवितामा भएको त्रुटि सच्याउन भाइ लक्ष्मीप्रसादकहाँ पठाउँथिन्। लोकपि्रया नेपालका गिनेचुनेका पुराना महिला लेखिकामध्ये पर्छिन्।
तस्बिरः वीकीमिडिया, शब्द विभिन्न सामाजिक सञ्जालबाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *