दुई सातामा कोरोना संक्रमणका कारण १४ जनाको मृत्यु, मृत्यु हुनेमा खोप नलगाएका बढी
थानकोट ।
कोरोना संक्रमणबाट दैनिक सर्वसाधारणको मृत्यु हुन थालेको छ। लामो समयसम्म मृत्यु संख्या शून्य रहेकोमा यही साउन १ गतेदेखि कोरोना संक्रमणबाट मृत्यु हुन् थालेको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार साउन १ गते र २ गते १/१ जनाको मृत्यु भएको थियो भने साउन ३, ४, ५, ६ र ७ गते मृत्यु हुनेको संख्या शून्य थियो।
तर साउन ८ गतेबाट मृत्यु हुनेहरुको संख्या थपिन थालेको छ। साउन ८ गते २ जना, साउन ९ गते १ जना, साउन १० गते २ जना, साउन ११ गते १ जना, साउन १२ गते २ जना, साउन १३ गते २ जना र साउन १४ गते २ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ।
दुई सातामा १४ जनाको कोरोनाबाट मृत्यु भइसकेको छ। मन्त्रालयको तथ्याङक हेर्ने हो भने शनिबारसम्म कोरोनाबाट ११ हजार ९ सय ६६ जनाको मृत्यु भइसकेको छ।
त्यस्तै कोरोना संक्रमितको संख्या पनि दैनिक ४ सय देखि ७ सयको हाराहारीमा देखिन थालेको छ। सक्रिय संक्रमितको संख्या पनि बढीरहेको छ। शनिबारसम्म ४ हजार ३ सय ६९ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता समिरकुमार अधिकारी सर्वसाधरणले स्वास्थ्य मापदण्ड नअपनाउदा संक्रमण बढेको बताउँछन्। ओमिक्रोनको बीए फाइफ फैलिएको कारण कोरोना संक्रमणदर बढेको स्वास्थ्य विज्ञहरुको भनाइ छ।
पछिल्लो समय कोरोनाबाट मृत्यु भएकाहरु बढी कोरोना खोप नलगाएका छन्। मन्त्रालयका प्रवक्ता अधिकारीका अनुसार मृत्यु हुने कोही कोरोना खोपको एक डोज लगाएका छन् भने कतिले खोप नै लगाएका छैनन्।
अधिकारी भन्छन्, ‘पछिल्लो समय कोरोनाबाट मृत्यु हुनेमा प्रायःजसो खोप नलगाएकाहरु रहेको जानकारीमा आएको छ। उमेरको हिसाबले बढी उमेर भएका र केहि दिर्घरोगीहरु छन्। एकदुई जनाले कोरोना खोपको एक डोज लगाएको देखिन्छ भने अन्यले कुनै डोज लगाएको देखिदैन्।
खोप नलगाएका कारण रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता नभएकोले उनीहरुको मृत्यु भएको हुनसक्ने अधिकारीको भनाइ छ। उनले कोरोना संक्रमणदर बढीरहेकोले नजिकैको खोप केन्द्रमा गएर कोरोना विरुद्धको खोप लगाउन पनि आग्रह गरेका छन्।












