छठका लागि चन्द्रागिरिका दुई ठाउँ तयारी तिव्र, मेयर-उपमेयरद्वारा निरीक्षण (भिडियो)
थानकोट ।
काठमाडौंका विभिन्न स्थानमा छठ पर्वको तयारी अन्तिम चरणमा पुगेको छ ।
चन्द्रागिरि नगरको मातातिर्थ र विष्णुदेवी मन्दिर क्षेत्रमा पनि छठ पर्वको तयारी तीव्र चलिरहेको छ ।
छठ पर्वका लागि मातातिर्थ र विष्णुदेवीस्थित बल्खु खोला किनारामा सरसफाइ र सजावटको कार्य धमाधम भैरहेको हो ।
ती स्थानमा ८० प्रतिशत तयारी सम्पन्न भएको मेला व्यवस्थापन पक्षले जनाएको छ ।
दुवै स्थानमा पाल टाँग्ने काम, बार लगाउने, बत्ती जडान गर्ने, सर सफाई गर्ने काम सम्पन्न भएको छ ।
स्नान घाटलाई फूलले सजाउने, स्वागत गेट बनाउने, छठ माताको मूर्ती स्थापना गर्ने काम बाँकी रहेको छ ।
खासगरी, मिथिलाञ्चल (तराई)मा मनाइने छठ पर्व पछिल्लो समय काठमाडौं उपत्यकामा पनि मनाउने क्रम बढ्दै गएको छ ।
यस पर्वमा नदी, ताल, लघु ताल, र पोखरीको किनार सिँगारेर घाट तयार गरिन्छ ।
छठ पर्व अस्ताउँदो सूर्य र उदाउँदो सूर्यलाई अर्घ्य दिएर मनाइन्छ ।
सोमबार छठको मुख्य दिन हो, सो दिनको साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइनेछ भने मंगलबार उदाउँदो सूर्यलाई अर्घ्य दिएर यस पर्व समापन हुनेछ ।
चन्द्रागिरि नगरमा छठ पर्व मनाउन तयारी भइरहेका दुवै स्थानमा आइतबार साँझ चन्द्रागिरि नगरका मेयर घनश्याम गिरी, उपमेयर बसन्ती श्रेष्ठ लगायतले निरीक्षण गर्दै तयारीका बारेमा जानकारी लिएका छन् ।
सो क्रममा थानकोटस्थित प्रहरी वृत्त प्रमुख प्रहरी नायब उपरीक्षक एलिजा गिरी लगायतको पनि उपस्थिति रहेको थियो ।
अपुष्ठ तथ्यांक अनुसार चन्द्रागिरि नगरमा करिब ३ हजार जना मिथिलाबासी रहेको अनुमान छ ।












