हङकङ सिक्सेस क्रिकेटः पहिलो खेलमा नेपाल अफगानिस्तानसँग १७ रनले पराजित
थानकोट ।
‘हङ्कङ इन्टरनेशनल सिक्सेस’ क्रिकेट प्रतियोगिताको आफ्नो पहिलो खेलमा शुक्रबार नेपाली टोली अफगानिस्तानसँग १७ रनले पराजित भएको छ । टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएको अफगानिस्तानले निर्धारित ६ ओभरमा पाँच विकेट गुमाएर एक सय १२ रन बनाएको थियो ।
जवाफी ब्याटिङमा ओर्लिएको नेपालले भने निर्धारित ६ ओभरमा दुई विकेट गुमाएर ९५ रनमात्र बनाउन सक्यो ।
नेपाली टोलीका लागि सन्दीप जोराले आक्रामक ब्याटिङ गर्दै केवल १४ बलमा अविजित ५३ रन बनाए । उनले यस क्रममा आठ छक्का र एक चौका प्रहार गरे ।
अफगानिस्तानविरुद्ध कप्तानको भूमिकामा ओर्लिएका सन्दीप जोरा प्रतियोगिताको नियम अनुसार, अर्धशतक पूरा गरेपछि ‘रिटायर्ड आउट’ हुँदै मैदानबाट बाहिरिए ।
अर्का ओपनर लोकेश बम १० बलमा एक छक्काको मद्दतले केवल १० रन बनाउँदै आउट भए । उनले सोचेजस्तो ब्याटिङ गर्न सकेनन् ।
रासिद खान पनि ६ बलमा एक छक्का र एक चौकाको मद्दतले ११ रन बनाउँदै आउट भए । आदिल आलमले पाँच बलमा दुई चौकाको मद्दतले अविजित ११ रन बनाए । रुपेश सिंह एक रनमा अविजित रहे । नेपालले अतिरिक्त रुपमा नौ रन पायो ।
त्यसअघि, नेपाली टोलीका बलरहरूले उत्कृष्ट प्रदर्शन गरेका थिए । रासिद खानले चार विकेट लिए ।
उनले दुई ओभरमा केवल २७ रन खर्चिए ।
लोकेश बमले पनि एक विकेट हात पारे । अफगानिस्तानका लागि करिम जनतले सर्वाधिक ३५ रन बनाए । कप्तान गुलबदिन नाइबले पनि २२ रन जोडे । फर्मानुल्लाह साफीले पनि ३० रन बनाए ।
नेपाल र अफगानिस्तान प्रतियोगिताको समूह ‘ए’ मा रहेका छन् । उक्त समूहमा तेस्रो टोलीको रुपमा दक्षिण अफ्रिका रहेको छ ।
नेपालले आफ्नो दोस्रो खेल शनिबार दक्षिण अफ्रिकासँग खेल्नेछ । अफगानिस्तानले भने आफ्नो दोस्रो खेल शुक्रबार नै दक्षिण अफ्रिकासँग खेल्नेछ ।
‘हङ्कङ इन्टरनेशनल सिक्सेस’ को २१औँ संस्करणमा १२ टोलीको सहभागिता रहेको छ । सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ ।
समूह ‘बी’ मा अस्ट्रेलिया, इङ्ल्यान्ड र संयुक्त अरब इमिरेट्स (यूएई) रहेका छन् । समूह ‘सी’ मा भने भारत, पाकिस्तान र कुवेत रहेका छन् ।
यसैगरी, समूह ‘डी’ मा बंगलादेश, आयोजक हङ्कङ र श्रीलंका रहेका छन् । प्रारम्भिक चरणको खेलपछि प्रत्येक समूहबाट दुई–दुई टोली प्रतियोगिताको क्वार्टरफाइनलमा पुग्नेछन् ।
‘हङ्कङ इन्टरनेशनल सिक्सेस’ क्रिकेट प्रतियोगितामा दुवै टोलीले ६–६ ओभर ब्याटिङ गर्नेछन् । दुबै टोलीमा ६–६ जना खेलाडी हुन्छन् ।
फिल्डिङ गर्ने टोलीका ६ जना खेलाडीले नै बलिङ गर्न पाउँछन् । एकजना खेलाडीमात्र दुई ओभर बलिङ गर्न पाउँछ । तर, एउटा बलरले लगातार दुई ओभर बलिङ गर्न भने पाउँदैन ।
५० रन बनाएपछि ब्याट्सम्यानले नट आउट रहँदै स्वत: क्रिज छाडनु पर्नेछ । पाँचौँ ब्याट्सम्यान आउट भएपछि पनि ओभर बाँकी रहेमा भने ५० रन बनाउने ब्याट्सम्यान पुन: ब्याटिङका लागि आउन पाउँछ ।
ओभर बाँकी रहँदै पाँचजना ब्याट्सम्यान आउट भए छैटौँ नम्बरमा नट आउट रहने ब्याट्सम्यानले पनि ब्याटिङ गर्न पाउँछ । यस्तो स्थितिमा पाँचौँ नम्बरमा आउट हुने ब्याट्सम्यानले रन लिनका लागि केवल ‘रनर’ को भूमिका निर्वाह गर्नेछ ।
नेपाली टोलीमा शरद भेषावकर (कप्तान), सन्दीप जोरा, लोकेश बम (विकेटकिपर), रुपेश कुमार सिंह, मोहम्मद आदिल आलम, रासिद खान र बसिर अहमद छन् ।














