६० दिनपछि चन्द्रागिरि केबलकार क्षेत्रमा चहलपहल, स्थानीय व्यवसायीहरुमा आशाको सञ्चार

Thankot Times

थानकोट ।

जेन-जी प्रदर्शनीका क्रममा बटम स्टेशनमा भएको लुटपाट, तोडफोड र आगजनीपछि बन्द भएको काठमाडौं उपत्यकाको पहिलो केबलकार सेवा चन्द्रागिरि केबलकार सेवा आज (कार्तिक २२) बाट सुचारु भएको छ।

चन्द्रागिरि केबलकारको प्रवर्द्धक चन्द्रागिरि हिल्सले गत साता विज्ञप्ति जारी गर्दै शनिबारदेखि सेेवा सुचारु हुने जनाएको थियो ।

सेवा बन्द भएको ६० दिनपछि केबलकार सेवा सञ्चालनमा आएको हो। चन्द्रागिरि हिल्सले केबलकार निर्माता कम्पनी अष्ट्रियाको डोपलमेयरका उच्च प्राविधिक बोलाइ आवश्यक मर्मत, सुरक्षा परीक्षण तथा थप निरीक्षणका कार्यहरू पूरा गरी यात्रुहरूका लागि सुरक्षित र सहज सेवा सुनिश्चित गर्दै पुनः सञ्चालनमा ल्याएको हो।

केबलकार सेवा सञ्चालन आएसँगै यस क्षेत्रमा चहलपहल बढेको छ। केबलकार सञ्चालन हुन थालेपछि दुई महिना व्यवसायमा ताला लगाएर बसेका स्थानीय व्यवसायीहरुमा राहत पुग्ने अपेक्षा गरिएको एक व्यवसायीले बताए ।

अवस्था सामान्य भएका बखत दैनिक ओैषत २ हजार जनाले केबलकार सेवा लिने गरेको बताइन्छ।

भदाै २४ गते चन्द्रागिरि केबलकारको बटम स्टेशनमा रहेका संरचनाहरुमा क्षति पुर्याइएको थियो ।

प्रहरीले सो घटनामा संलग्न हुनेहरूको पहिचान भइरहेको जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *