महिला राष्ट्रिय क्रिकेट टोली भारत प्रस्थान
थानकोट ।
नेपाली महिला राष्ट्रिय क्रिकेट टोली भारत प्रस्थान गरेको छ ।
उत्तराखण्ड क्रिकेट एशोसिएसनको आयोजनामा भोलिदेखि आउँदो मङ्सिर ३ गतेसम्म हुने खेलका लागि टोली हिजो भारत गएको हो ।
नेपाली महिला टोलीले देहरादुनमा स्थानीय टोलीसँग मैत्रीपूर्ण खेल खेल्नेछ ।

नेपालले भारतको राजस्थान, पश्चिम बङ्गाल र उत्तराखण्डसँग ६ खेल खेल्ने तालिका रहेको नेपाल क्रिकेट सङ्घ (क्यान) का केन्द्रीय सदस्य वीरेन्द्रबहादुर चन्दले जानकारी दिनुभयो । उहाँका अनुसार नेपालले पहिलो खेल भोलि राजस्थानसँग खेल्नेछ ।
यस्तै, कात्तिक २८ गते उत्तराखण्डसँग, कात्तिक २९ गते पश्चिमबङ्गालसँग, मङ्सिर १ गते राजस्थानसँग, मङ्सिर २ गते उत्तराखण्डसँग र अन्तिम खेल मङ्सिर ३ गते पश्चिम बङ्गालसँग खेल्नेछ ।
विश्वकप क्रिकेट छनोटको तयारीका लागि महिला टोली भारत गएको हो ।
टोलीमा कप्तान इन्दु बर्मा, कविता कुँवर, साना परविन, रुबिना क्षेत्री, अलिशा यादव, इश्वरी विष्ट, रोमा थापा, अश्मिना कर्माचार्य, सवनम राई, विन्दु रावल, पूजा महतो, लक्ष्मी साउद, मनीषा उपाध्याय, सीमाना केसी र ममता चौधरी रहेका छन् ।














