दृष्टिविहीन महिला टी-२० विश्वकपमा नेपालकाे दोस्रो जित, अस्ट्रेलिया ८ विकेटले पराजित

Thankot Times

थानकोट ।

भारतमा जारी पहिलो दृष्टिविहीन महिला टी-२० विश्वकप क्रिकेटमा नेपालले दोस्रो जित हात पारेको छ ।

शनिबार सम्पन्न खेलमा नेपालले अस्ट्रेलियालाई ८ विकेटले पराजित गरेको हो ।

यो जितसँगै नेपाल अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । टस जितेर पहिला ब्याटिङ गरेको अस्ट्रेलियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ३६ रनको योगफल तयार पारेको थियो ।

उसका लागि लुइसले ३१, अमेलिया हर्टले २१ र जेनिफर पेरीले ३० रनको योगदान दिए । नेपालका लागि सुनिता भुजेलले १ विकेट हात पारिन् भने अस्ट्रेलियाका ५ खेलाडी रनआउट भएका थिए । जवाफमा १ सय ३७ रनको लक्ष्य नेपालले १४ ओभर ५ बलमा २ विकेट गुमाएर पुरा गर्‍यो ।

नेपालको जितमा सुस्मा तामाङले ३२ रन, मानकेशी चौधरीले १८ रन र विनिता सोमाईले अविजित ३७ रनको योगदान दिए । अस्ट्रेलियाका लागि लुइसले १ विकेट लिइन् । यस जितसँगै नेपाल ३ खेलमा २ जितसहित ४ अंक जोडेको छ । नेपाल तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।

लगातार दुई खेलमा पराजित अस्ट्रेलिया पाँचौं स्थानमा छ ।

नेपालले आफ्नो चौथो खेलमा आइतबार अमेरिकासँग प्रतिस्पर्धा गर्ने छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *