अण्डाको भाउ क्रेटमा ५५ रुपैयाँसम्म बढ्यो
थानकोट ।
नेपालमा अण्डाको मूल्य आजबाट लागू हुनेगरी भारी वृद्धि भएको छ ।
किसानको फार्म मूल्यलाई आधार बनाएर समर्थन मूल्य जारी गर्दै आएको नेपाल लेयर्स कुखुरापालक सङ्घले जारी गरेको मूल्यसूचीमा भारी वृद्धि भएको हो ।
यसअनुसार अति ठूलो (एक्सएल) अण्डा प्रतिक्रेट (३० वटाको) रु पाँच सय २०, ठूलो अण्डा रु पाँच सय पाँच र मिडिएम रु चार सय ९० कायम गरिएको छ ।
सङ्घका अध्यक्ष विनोद पोखरेलका अनुसार यसअघिको मूल्यभन्दा प्रतिक्रेट ५५ रुपैयाँले बढेको हो ।
उनका अनुसार भारतीय अण्डा सीमाबाट अवैध रूपमा छिर्न रोकिएपछि नेपाली अण्डाले लागत मूल्य पाएको हो ।
अहिले नेपालमा दैनिक ४० लाख गोटा हाराहारी अण्डा उत्पादन हुने गरेको अनुमान छ ।












