चन्द्रागिरि नगरलाई ‘ताररहित सहर’ बनाउने विद्युत प्राधिकरणको आयोजना अन्तिम चरणमा
थानकोट ।
नेपाल विद्युत् प्राधिकरणले विद्युतीय तार भूमिगत (अन्डरग्राउन्ड) गर्ने योजनाको काम तीव्र रूपमा भइरहेको जनाएको छ ।
प्राधिकरणले काठमाडौँ उपत्यकालाई ‘ताररहित र सुरक्षित सहर’ बनाउने उद्देश्यका साथ सात वर्ष पहिला २०७६ फागुन ५ गते विद्युतीय तार भूमिगत गर्ने काम सुरु गरेको थियो ।
काठमाडौँको पश्चिमी क्षेत्र (बानेश्वर, कीर्तिपुर, कलङ्की, थानकोट, बालाजु, जोरपाटी) समेटिएको प्याकेजमा प्राधिकरणले ७० देखि ८० प्रतिशत भौतिक प्रगति हासिल गरेको छ । यो क्षेत्रमा एल एण्ड टी कन्स्ट्रक्सन कम्पनीले काम गरिरहेको छ ।
विशेषगरी कीर्तिपुर क्षेत्रमा काम सम्पन्न भई लाइन चार्जसमेत भइसकेको प्राधिकरणले जनाएको छ । त्रिवि प्रवेशद्वारदेखि कीर्तिपुर प्रवेशद्वार, त्रिवि वरिपरिका क्षेत्र, कीर्तिपुर रिङरोड, मैत्रीनगर, बल्खु कोरिडोर, भत्केपाटी, नगाऊँ र ढाल्पाचोक क्षेत्रमा अहिले भूमिगत तारबाटै विद्युत् उपलब्ध गराउन थालिएको प्राधिकरणले जनाएको छ ।
त्यस्तै, कलंकी-थानकोट खण्डमा सडकको एकातर्फको काम सकिएको छ भने अर्कोतर्फ काम भइरहेको छ । बालाजु क्षेत्रको काम पनि अन्तिम चरणमा पुगेको छ । कालिमाटी चोकबाट बल्खु चोक हुँदै चोभार गेटसम्मको क्षेत्रमा पनि नयाँ प्रणाली जडान भइसकेको प्राधिकरणको आयोजना विकास निर्देशनालयका प्रमुख तारा प्रधानले जानकारी दिए ।
यता, प्रमुख प्रधानका अनुसार पश्चिम क्षेत्रकै गौशाला–शङ्खमुल खण्डमा भने केही ढिलाइ भएको छ । त्यस्तै, गौशाला–शङ्खमुल खण्डमा भने सडक खन्न अनुमति आएको तर पैसा जम्मा गर्न बाँकी रहेकाले काम सुरु हुन नसकेको उनले बताए । काम सुरु भएमा यो खण्डको काम ५ देखि ६ महिनामा सकिने अनुमान रहेको उनको भनाइ छ ।












