चन्द्रागिरिसहित बागमतीका स्थानीय तहमा सुरु भयो‘एक स्थानीय तह, एक नमूना स्वास्थ्य संस्था’ कार्यक्रम

Thankot Times

थानकोट ।

बागमती प्रदेशले ‘एक जिल्ला–एक स्वस्थ सहर’ अभियान तीव्र रूपमा अघि बढाएको छ ।

मुख्यमन्त्री इन्द्रबहादुर बानियाँका अनुसार प्रदेश सरकारले हरेक नागरिकसम्म गुणस्तरीय स्वास्थ्य सेवा पुर्‍याउने लक्ष्यलाई अब व्यवहारिक रूपमा विस्तार गरिरहेको छ ।

 हेटौँडामा आयोजित ‘एक स्वस्थ सहर : एक स्थानीय तह–एक नमूना स्वास्थ्य संस्था’ सम्बन्धी पैरवी, समन्वय र अन्तरक्रिया कार्यक्रममा मुख्यमन्त्री बानियाँले “स्वस्थ नागरिक नै समृद्ध प्रदेशको आधार” भन्दै स्वास्थ्य क्षेत्रलाई शीर्ष प्राथमिकतामा राखिएको बताए ।

उनका अनुसार ‘एक जिल्ला–एक स्वस्थ सहर’,‘एक स्थानीय तह–एक नमूना स्वास्थ्य संस्था’,‘एक विद्यालय–एक नर्स’,स्वास्थ्य बीमा विस्तार जस्ता कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सरकार जुटिरहेको छ।

मुख्यमन्त्री बानियाँले क्यान्सर, हृदयरोग तथा डायलासिस सेवाको दायरा बढाइएकाले अब ग्रामीण तहका नागरिकलाई पनि उपचारका लागि राजधानी धाउन नपर्ने वातावरण बन्दै गएको धारणा राखे ।

यसैबीच, प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगरले सर्ने–नसर्ने दुवै प्रकारका रोग नियन्त्रणका लागि दीर्घकालीन योजना र तत्कालिक कार्ययोजना दुवै मोडेलमा काम भइरहेको जानकारी दिए। कार्यक्रममा बागमती प्रदेशका १३ वटै जिल्लाका पालिका प्रमुख, उपप्रमुख, प्रशासकीय अधिकृत तथा जनप्रतिनिधिको उपस्थिति रहेको स्वास्थ्य मन्त्रालयकी सचिव डा. सुमित्रा गौतमले बताइन् ।

यो अभियानले प्रदेशभर एकरूप स्वास्थ्य सेवा प्रवाहमा महत्वपूर्ण मोड ल्याउने अपेक्षा गरिएको छ ।

कार्यक्रममा चन्द्रागिरि नगरका प्रवक्ता कृष्णप्रसाद खड्गी, सामाजिक विकास समिति संयोजक घनश्याम लुइँटेल, नगर स्वास्थ्य शाखा प्रमुख शम्भु कुमार महतो लगायतको समेत सहभागिता रहेको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *