एमाले महाधिवेशनमा मतदानका लागि बेलुकी ८ बजेभित्र मतदानस्थल पुगिसक्नुपर्ने
थानकोट ।
नेकपा (एमाले) को महाधिवेशनमा नेतृत्व चयनका लागि मतदानमा सहभागी हुने प्रतिनिधिहरूले बुधबार बेलुकी ८ बजेसम्म मतदानस्थल पुगिसक्नुपर्ने भएको छ ।
एमालेको निर्वाचन आयोगका सचिव कुन्साङ लामाले अहिले आफूहरूले टोकन बाँढिरहेको बताए ।
“अहिले टाेकन बाँढिरहेका छाैँ । गेटबाहिर रहनुभएका प्रतिनिधि टाेकन लिएर ८ बजेभित्र हाेल्डिङ सेन्टरमा पुग्नुपर्ने सूचना जारी गरेका छाैँ,” लामाले भने ।
यसअघि एमालेको निर्वाचन आयोगले राति ८ बजे मतदान सकिने अनुमान गरेको थियो । तर, मतदान गर्न बढी समय लागेपछि मतदानको समय लम्बिएको हो । अब ८ बजेभित्र मतदानस्थल छिरिसकेकाले भने मतदानमा भाग लिन पाउने भएका छन् ।













