नागढुंगा सुरुङमार्ग क्षेत्रमा सुरक्षा र ट्राफिक व्यवस्थापनबारे प्रहरी नेतृत्वको स्थलगत अनुगमन

Thankot Times

थानकोट ।

नागढुंगा सुरुङमार्ग क्षेत्रको सवारी व्यवस्थापन, सुरक्षा अवस्था र सम्भावित जोखिम न्यूनीकरणका विषयमा काठमाडौँ उपत्यका प्रहरी कार्यालय र उपत्यका ट्राफिक प्रहरी कार्यालयको संयुक्त टोलीले स्थलगत निरीक्षण गरेको छ।

काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख एआईजी सुशील सिंह राठौर र उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसएसपी सुरेश काफ्लेको नेतृत्वमा भएको अनुगमनका क्रममा सुरुङमार्गको प्रवेश तथा निकास क्षेत्रमा हुनसक्ने सवारी चाप, ट्राफिक अवरोध र सुरक्षा चुनौतीबारे जानकारी लिइएको हो।

निरीक्षणका क्रममा सम्भावित दुर्घटना नियन्त्रण, आकस्मिक उद्धार व्यवस्थापन तथा सुरुङमार्ग सञ्चालनका क्रममा अपनाउनुपर्ने सुरक्षा उपायबारे सम्बन्धित पक्षसँग छलफल गरिएको थियो।

काठमाडौँ भित्रिने प्रमुख नाकामध्ये एक रहेको नागढुंगा सुरुङमार्गमा सवारी आवागमनलाई सहज र व्यवस्थित बनाउन ट्राफिक प्रहरीको प्रभावकारी परिचालन तथा प्रविधिमा आधारित निगरानी प्रणालीलाई थप सुदृढ गर्ने विषयमा पनि छलफल भएको प्रहरीले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ