चन्द्रागिरि नगरपालिका सामुदायिक विद्यालय समितिको अध्यक्षमा कवीन्द्र गोपाली
थानकोट ।
चन्द्रागिरि नगरपालिका क्षेत्रभित्र सञ्चालनमा रहेका सामुदायिक विद्यालयहरूको सामुहिक हकहितका लागि समिति गठन भएको छ ।
मंगलबार थानकोटस्थित मंगलोदय माविमा चन्द्रागिरि नगर क्षेत्रमा सञ्चालनमा रहेका विभिन्न २२ वटा सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूको उपस्थितिमा चन्द्रागिरि नगरपालिका सामुदायिक विद्यालय समिति गठन भएको हो ।
बैठकले समिति अध्यक्षमा कवीन्द्र गोपालीलाई सर्वसम्मत रुपमा चयन गरेको छ । उनी मङ्गलोदय माविका प्रधानाध्यापक हुन् ।
मुलुक संघीयतामा रूपान्तरण भएसँगै यस क्षेत्रका सामुदायिक विद्यालयहरूबीच पारस्परिक हितका लागि ऐक्यबद्धता खड्किएको सन्दर्भमा सो समिति गठन भएको बताइएको छ । सो अघि पश्चिम क्षेत्र विद्यालय समिति अस्तित्वमा थियो ।
नगर क्षेत्रका सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तर बढाउन, समयानुसार शिक्षक कर्मचारीहरूको वृत्ति विकास एवं तालिम कार्यक्रममा अवसर सृजना गर्न, विभिन्न विषयमा बहस तथा पैरवी गर्न तथा शैक्षिक संस्थाको सामुहिक हितका लागि सकरात्मक दबाब सृजना गर्ने हेतुले सो समिति गठन भएको नवगठित समितिका अध्यक्ष गोपालीको भनाइ छ ।
समान उद्देश्यले स्थापित संस्थाहरूको एकता हुनु अपरिहार्य रहेको सन्दर्भमा मंगलबार सो समिति गठन भएको उनको भनाइ छ । यस्तै, समितिको आगामी कार्यदिशा तथा उद्देश्य प्राप्तिका लागि आवश्यक प्रकृया तथा नीतिनियमको व्यवस्थापन यथासिघ्र गर्ने निर्णय भएको बताइएको छ ।

समितिको उपाध्यक्षमा मच्छेगाउँस्थित नारायणजन माविका विष्णुप्रसाद रुपाखेती, सचिवमा चिसापानीस्थित चण्डीभैरव माविका किशोर प्रसाद पाण्डे, कोषाध्यक्षमा नैकापस्थित मंगल माविका कृष्णहरि कार्की, सहसचिवमा मातातिर्थस्थित जनविकास माविका सरोज अधिकारी, सदस्यहरूमा बालागाउँ मातातिर्थस्थित महालक्ष्मी आधारभुत विद्यालयकी अन्जना सुवेदी र मच्छेगाउँस्थित चुनदेवी आधारभुत विद्यालयका हरिशरण खनाल चुनिएका छन् ।
समितिको संरक्षकमा कंकाली माविका विष्णुप्रसाद पनेरू तथा सल्लाहकारमा प्रभात माविका रामकाजी श्रेष्ठ र बलम्बु माविका सुमन राउत चयन भएका छन् । यस किसिमको समिति नेपालका अन्य स्थानीय तहहरूमा पनि अस्तित्वमा रहेको बताइन्छ ।
चन्द्रागिरि नगर क्षेत्रका विभिन्न २२ वटा सामुदायिक विद्यालयमा करिब ११ हजार जना विद्यार्थी अध्ययनरत छन् ती विद्यालयमा कार्यरत शिक्षक कर्मचारीको संख्या भने करिब ४ सय जनाको हाराहारीमा रहेको छ ।
















