बागमती प्रदेश लघुवित्त सदस्य सम्मेलन हुने
थानकोट ।
‘स्वस्थ लघुवित्त, समृद्ध सदस्य’को नाराका साथ बागमती प्रदेश लघुवित्त सदस्य सम्मेलन आयोजना हुने भएको छ ।
तीन दशकदेखि उद्यमशीलता विकास र महिला सशक्तीकरणमार्फत विपन्न वर्गको आर्थिक रूपान्तरणमा सक्रिय लघुवित्त संस्थाहरूको पहलमा आगामी पुस ११ गतदेखि सो सम्मेलन हुन लागेको हो । ग्रामीण अर्थतन्त्रको मेरुदण्डको रूपमा रहेको लघुवित्त क्षेत्रलाई थप प्रभावकारी बनाउनु, विपन्न वर्गको जीवनस्तरमा सुधार ल्याउनु र युवा सदस्यहरूलाई उद्यमशीलतातर्फ प्रोत्साहित गर्नु सम्मेलनको उद्देश्य रहेको आयोजकको भनाइ छ ।
लघुवित्तकर्मी र सदस्यहरूलाई जिम्मेवार बनाउँदै यस क्षेत्रमा देखिएका विकृति र विसंगतिहरूलाई नियन्त्रण गर्ने लक्ष्य पनि सम्मेलनले राखेको छ । सम्मेलनबाट लघुवित्त सदस्यहरूबीच अनुभव आदान-प्रदान भई आपसी ज्ञान र सिकाइमा वृद्धि हुने अपेक्षा गरिएको छ । यसले सदस्यहरूको मनोबल बढाउने, लघुवित्तप्रति विद्यमान नकारात्मक सोचमा परिवर्तन ल्याउने र समावेशी आर्थिक वृद्धिका लागि दिगो आधार तयार पार्ने विश्वास लिइएको छ ।
यो सम्मेलनले लघुवित्त क्षेत्रका सदस्यहरूमा उद्यमशीलताको बीउ रोपेर ग्रामीण अर्थतन्त्रलाई थप मजबुत बनाउने अपेक्षा आयोजकको छ ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. प्रकाश कुमार श्रेष्ठको प्रमुख आतिथ्यमा सञ्चालन हुने सम्मेलनको आयोजना र व्यवस्थापनमा मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेड (आयोजकको रूपमा), स्वावलम्बन लघुवित्त वित्तीय संस्था, छिमेक लघुवित्त वित्तीय संस्था, सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था, महिला सहयोगी बचत तथा ऋण सहकारी संस्था रहेका छन् ।















