प्रतिनिधि सभा निर्वाचनः देशभर २३ हजार ११२ मतदान केन्द्र, चन्द्रागिरि नगरपालिका क्षेत्रमा २२ मतदान केन्द्र

Thankot Times

थानकोट ।

आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति मतदान केन्द्र निर्धारण गरिएको छ ।

शनिबार (पुस १२) निर्वाचन आयोगले मतदानस्थल र केन्द्र निर्धारण गरेको हो ।

देशभर १० हजार ९६७ मतदानस्थल निर्धारण गरिएको छ । ती स्थलमा कुल २३ हजार ११२ मतदान केन्द्र निर्धारण गरिएको आयोगले जनाएको छ ।

“…यो निर्वाचनमा वि. सं. २०७९ को कुल मतदानस्थलको संख्याभन्दा ७५ वटा बढी निर्धारण गरिएको छ भने कुल मतदान केन्द्रको संख्या ८८५ ले वृद्धि भएको व्यहोरा समेत जानकारी गराइन्छ,” आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

शनिबारै आयोगले मतदाताको अन्तिम नामावली प्रकाशन गरेको छ । आउँदो फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा हुने नागरिकको विवरणलाई अद्यावधिक गरी मतदाता नामावली प्रकाशन गरिएको आयोगले जनाएको छ ।

“प्रकाशित अन्तिम मतदाता नामावलीमा ९६,६३,३५८ पुरुष, ९२,४०,१३१ महिला र अन्य २०० गरी जम्मा १,८९,०३,६८९ मतदाता समावेश भएका छन्,” विज्ञप्तिमा उल्लेख छ ।

सो निर्वाचनका लागि चन्द्रागिरि नगर क्षेत्रमा २२ निर्वाचन मतदान केन्द्र निर्धारण गरिएका छन् ।

जसमा चन्द्रागिरि १, ४, १०, १२ र १४ मा समान २-२, चन्द्रागिरि १३ मा ३ र बाँकी ९ वटा वडामा समान १-१ मतदान केन्द्र निर्धारण गरिएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *