प्रतिनिधि सभा सदस्य निर्वाचनः काठमाडाैं क्षेत्र नं. ९ निर्वाचन अधिकृतको कार्यालय चन्द्रागिरि नगरमा स्थापना
थानकोट ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि काठमाडाैं क्षेत्र नं. ९ मा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ।
चन्द्रागिरि नगरपालिका भवनमा शुक्रबार एक कार्यक्रमका बीच काठमाडाैं क्षेत्र नं. ९ को निर्वाचन अधिकृतको कार्यालय सञ्चालनमा ल्याइएको हो।
यस क्षेत्रकी निर्वाचन अधिकृत मनुका घिमिरेका अनुसार अब निर्वाचन आयोगको पूर्व निर्धारित कार्यतालिका बमोजिम उम्मेदवार दर्ता, नामावली प्रकाशन, दाबी–विरोध तथा निर्वाचन आचारसंहिता कार्यान्वयनका प्रक्रियाहरू सुरु हुनेछन्। निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि सुरक्षा निकाय, स्थानीय प्रशासन तथा अन्य सरोकारवाला पक्षहरूसँग आवश्यक समन्वय भइरहेको उनले बताइन् ।
काठमाडौ महानगरपालिकाको वडा नम्बर १२,१४,२१ र २२ चन्द्रागिरि नगरपालिकाको वडा नम्बर १,१२,१३,१४ र १५ र नागार्जुन नगरपालिकाको वडा नम्बर ६,७,८,९ र १० यस क्षेत्रमा पर्दछ ।
यस निर्वाचन क्षेत्रमा ३४ वटा मतदानस्थल रहनेछन भने ९० मतदान केन्द्र रहनेछ ।
काठमाडौं क्षेत्र नम्बर ९ को निर्वाचन अधिकृतको जिम्मेवारी प्रधानमन्त्री कार्यालयमा कार्यरत उपसचिव मनुका घिमिरेलाई दिइएको छ ।
शुक्रबार देशभर नै निर्वाचन अधिकृतको कार्यालय स्थापना भएसँगै प्रतिनिधिसभा निर्वाचनको औपचारिक प्रक्रिया सुरू भएको छ ।
आयोगले निष्पक्ष, स्वतन्त्र र शान्तिपूर्ण निर्वाचन सम्पन्न गर्न आवश्यक सम्पूर्ण तयारी तीव्र पारिएको जनाएको छ ।
निर्वाचनको लागि यही माघ ६ गते प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता गर्ने तालिका रहेको छ ।
















