आईसीसी टी-२० विश्वकप ग्लोबल छनोटः वार्म अप खेलमा नेपाल अमेरिकासँग पराजित
थानकोट ।
नेपालले आईसीसी टी–२० विश्वकप ग्लोबल छनोटअगाडिको आफ्नो अन्तिम वार्म अप खेलमा अमेरिकासँग ६ विकेटको पराजय व्यहोरेको छ ।
बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले प्रस्तुत गरेको १३७ रनको लक्ष्य अमेरिकाले पाँच बल बाँकी रहँदा चार विकेट गुमाउँदै पूरा गर्यो ।
अमेरिकाका लागि चेतना पगड्यालाले ४६ बलमा अविजित ५६ रनको योगदान गरिन् । यसैगरी, इसानी वाघेला २०, ऋतु सिंहले अविजित १९, एला क्लारिजले १४ र कप्तान अदितिबा चुडासमाले १३ रन बनाए । नेपालका लागि रिया शर्मा, सुमन विष्ट र रुविना क्षेत्रीले एक–एक विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले विन्दु रावलले २७, सम्झना खड्काले २४, कविता जोशीले २०, रोम थापाले १९ र पूजा महतोले १७ रन बनाए । अमेरिकाका लागि तरनुम चोपडाले तीन, सैनावी कम्बालापल्लीले दुई तथा गीतिका कोदली र ऋतु सिंहले एक–एक विकेट लिए ।
यसअघि नेपालले पहिलो वार्म अप खेलमा पनि आयरल्यान्डसँग ९९ रनले परजित भएको थियो ।















