कांग्रेस महाधिवेशन: उम्मेदवारकाे मनोनयन सोमबार, दर्ता शुल्क ३५ सय
थानकोट ।
नेपाली कांग्रेसले १५औँ महाधिवेशन ‘नीति चयन’को अधिवेशनका रूपमा अघि बढाउने प्रयत्न गरिएको जनाएको छ ।
महाधिवशेनको तयारीबारे जानकारी दिन शनिबार (असोज १७) उद्घाटनस्थल खुल्लामञ्चमा पत्रकार सम्मेलन गर्दै कांग्रेस प्रवक्ता देवराज चालिसेले यसलाई नेता छान्नेमा मात्र सीमित नराखी ‘नीति चयन’को अधिवेशनका रूपमा अघि बढाउने प्रयत्न गरिएको बताए । यसले कांग्रेसलाई संस्थागत र सुदृढ बनाउन मद्दत पुर्याउने उनले उल्लेख गरे ।
उमेदवारी मनोनयन दर्ता हुनुअघि महाधिवेशनको सर्वोच्च निकायले विधान संशोधन प्रस्तावमा छलफल गरी निर्णय गर्ने उनले जानकारी दिए । विधान संशोधन समितिले तयार पारेको र केन्द्रीय समितिले छलफल गरी ल्याएको प्रस्तावानुसार पदहरू थप्ने, घटाउने वा परिमार्जन गर्ने अन्तिम अधिकार महाधिवेशन हलको रहने उनले बताए ।
उनले सोमबार (असोज १९) दिउँसो २ देखि बेलुका ६ बजेसम्म मनोनयन दर्ता हुने जानकारी दिए । उमेदवारीको नामांकन गर्नुभन्दा अगाडि विधान संशोधन भइसक्ने उनले बताए । नेतृत्व चयनका निम्ति मतपत्रबाटै निर्वाचन हुने उनको भनाइ छ ।
प्रवक्ता चालिसेले आइतबार (असोज १८) उद्घाटनपछि सुरु हुने बन्दसत्रमा कांग्रेसको आगामी नीति, कार्यक्रम तथा समसामयिक प्रतिवेदनहरू पेस गरिने बताए । सभापतिले आगामी पाँच वर्षका निम्ति राजनीतिक, आर्थिक, उत्पादन, रोजगार तथा विदेश नीतिसम्बन्धी दृष्टिकोण समेटिएको कार्यपत्र पेस गर्ने उनले जानकारी दिए ।
महाधिवेशनका निम्ति देशभरिबाट प्रतिनिधिहरू काठमाडौं आउने क्रम जारी छ । उनीहरू हरेकबाट तीन हजार ५०० रुपैयाँ दर्ता शुल्क लिएर रजिस्ट्रेसनको व्यवस्था गरिएको उनले बताए । महाधिवेशनको सम्पूर्ण तयारी पूरा भइसकेको कांग्रेसले जनाएको छ ।













