प्रथम चित्लाङ गोल्डकप ९ ए साइड फुटबलको उपाधि कुर्दन फुटबल एकेडेमीलाई

Thankot Times

थानकोट।

मकवानपुरको थाहा नगरपालिका वडा नं. ९ चित्लाङमा पौष २७ गतेदेखि सञ्चालन भएको प्रथम चित्लाङ गोल्डकप नाइन ए साइड फुटबल प्रतियोगिताको उपाधि चन्द्रागिरि नगरपालिका १५ ढुङ्गाअड्डास्थित  कुर्दन फुटबल एकेडेमीले हात पारेको छ ।
शुक्रबार सम्पन्न फाइनल खेलमा कुर्दन फुटबल एकेडेमीले डाडाबास फुटबल क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै ऐतिहासिक उपाधि जित्न सफल भएको हो।

प्रतिस्पर्धात्मक फाइनल खेलमा कुर्दनका जर्सी नम्बर १६ का आयुष्मान श्रेष्ठले निर्णायक गोल गर्दै टोलीलाई विजय दिलाएका थिए।

उपाधिसँगै विजेता कुर्दन फुटबल एकेडेमीले नगद एक लाख रुपैयाँ, ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता डाडाबास फुटबल क्लबले नगद ५० हजार रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ।
प्रतियोगितामा कुर्दन फुटबल एकेडेमीका रोहित थापा उत्कृष्ट खेलाडी घोषित हुँदा अंकित खड्गी उत्कृष्ट गोलरक्षक बन्न सफल भए।

यस्तै, शिखर क्लबका विवेक थोकर र कुर्दनका सन्देश श्रेष्ठ संयुक्त रूपमा उत्कृष्ट गोलकर्ता घोषित भए।

विजेता, उपविजेता तथा विभिन्न विधागत उत्कृष्ट खेलाडीहरूलाई थाहा नगरपालिकाका नगर उपप्रमुख भरत गोपालीले पुरस्कार तथा प्रमाणपत्र वितरण गगरेका थिए।

सो अवसरमा बोल्दै नगर उपप्रमुख गोपालीले स्थानीयस्तरमा आयोजना हुने यस्ता प्रतियोगिताले युवालाई खेलकुदतर्फ आकर्षित गर्दै अनुशासन, स्वास्थ्य र सकारात्मक सोच विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँले नगरपालिकाले आगामी दिनमा पनि खेलकुद प्रवर्द्धनमा निरन्तर सहयोग गर्दै जाने प्रतिबद्धता व्यक्त गरे ।

छ दिनसम्म सञ्चालन भएको प्रतियोगितामा २३ टिमको सहभागिता रहेको थियो भने प्रतियोगिता नाइन ए साइड फर्म्याटमा खेलाइएको थियो।

फाइनल तथा समापन समारोहलाई अझ आकर्षक बनाउँदै बाबू एडभेन्चर्सको प्याराग्लाइडिङमार्फत प्रतियोगिता स्थलमा आकाशबाट पुष्पवृष्टि गर्नुका साथै फुटबल बल हस्तान्तरण गरिएको दृश्य दर्शकहरूका लागि विशेष आकर्षणको केन्द्र बनेको थियो।

प्रथम संस्करणमै सफलतापूर्वक सम्पन्न भएको चित्लाङ गोल्डकपले स्थानीय खेलकुदको विकासमा नयाँ उत्साह थपेको आयोजकहरूले बताएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *