चन्द्रागिरि नगरपालिका भवन अब हरप्रहर सशस्त्र प्रहरीको सुरक्षा घेरामा

Thankot Times

थानकोट ।

सम्बन्धित निर्वाचन क्षेत्रमा मतदान अधिकृतको कार्यालय स्थापना भएसँगै फागुन २१ का लागि तय भएको प्रतिनिधि सभा सदस्य निर्वाचन कार्यक्रमले औपचारिक रुप लिएको छ ।

शुक्रबार देशका सबै १६५ वटै निर्वाचन क्षेत्रमा मतदान अधिकृतको कार्यालय स्थापना भएको छ ।

निर्वाचन आयोगले प्रत्येक जिल्लामा खटिने ७७ जना मुख्य निर्वाचन अधिकृत तथा ८८ जना निर्वाचन अधिकृतहरू तोकिसकेको छ।

प्रत्यक्ष निर्वाचन प्रणालीतर्फको उम्मेदवारी मनोनयन ६ माघमा हुँदै छ। त्यस पूर्व सम्बन्धित निर्वाचन क्षेत्रहरूका लागि निर्वाचन कार्यालय खोलेर कर्मचारी खटाइएको हो ।

मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतलाई एउटा–एउटा निर्वाचन क्षेत्रको जिम्मेवारी रहनेछ। जिल्ला न्यायाधीशहरूबाट मुख्य निर्वाचन अधिकृत तोकिएका छन्।

शुक्रबार चन्द्रागिरि नगरपालिका कार्यालयमा काठमाडाैं क्षेत्र नंं ९ को निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ ।

यस क्षेत्रकी निर्वाचन अधिकृत मनुका घिमिरेका अनुसार अब निर्वाचन आयोगको पूर्व निर्धारित कार्यतालिका बमोजिम उम्मेदवार दर्ता, नामावली प्रकाशन, दाबी–विरोध तथा निर्वाचन आचारसंहिता कार्यान्वयनका प्रक्रियाहरू सुरु हुनेछन्। निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि सुरक्षा निकाय, स्थानीय प्रशासन तथा अन्य सरोकारवाला पक्षहरूसँग आवश्यक समन्वय भइरहेको उनले बताइन् ।

काठमाडौ महानगरपालिकाको वडा नम्बर १२,१४,२१ र २२ चन्द्रागिरि नगरपालिकाको वडा नम्बर १,१२,१३,१४ र १५ र नागार्जुन नगरपालिकाको वडा नम्बर ६,७,८,९ र १० यस क्षेत्रमा पर्दछ ।

नगरपालिका भवनमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएसँगै चन्द्रागिरि नगरपालिका भवनमा सशस्त्र प्रहरी बलका ५ जना अधिकारीले २४सै घण्टा सुरक्षा पहरा दिने भएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *