महिला टी-२० विश्वकप ग्लोबल छनोट: दोश्रो खेलमा नेपाल २ रनले स्तब्ध, सुपर सिक्स यात्रा कठिन

Thankot Times

थानकोट ।

आईसीसी महिला टी-२० विश्वकप ग्लोबल क्वालिफार्यसको समूह ‘बी’ अन्तर्गतको खेलमा घरेलु टिम नेपाललाई हराउँदै नेदरल्यान्ड्स सुपर सिक्समा प्रवेश गरेको छ। नेदरल्यान्ड्सले नेपाललाई २ रनले पराजित गरेको हो ।

अन्तिम ओभरमा १३ रन चाहिएको अवस्थामा नेपालले १०  रन मात्र जोड्न सक्यो। बिहीबार त्रिवि क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिला ब्याटिङ गरेको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १४० रन बनाएको थियो।

नेदरल्यान्ड्सले दिएको १४१ रनको विजयी लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १३८ रन बनाएको हो। नेपालका लागि रुबिना क्षेत्रीले सर्वाधिक ३७ रन बनाइन्।

नेदरल्यान्ड्सका लागि इसावेल भान वोनिङले सर्वाधिक ३ विकेट लिइन्। सिल्भर सिगर्स, रोबिन रिज्के र कारोलिन डी लाङ्गेले १–१ विकेट लिए।

त्यसअघि ब्याटिङ गरेको नेदरल्यान्ड्सका लागि कप्तान बाबेट डी लीडीले सर्वाधिक ४९ रन बनाइन्। उनले ४७ बलमा ७ चौका प्रहार गरिन्। उनले तेस्रो विकेटका लागि कालिससँग ७९ रनको साझेदारी गर्दै टिमको स्कोर अगाडी बढाएकी थिइन्।

नेपालका लागि बलिङ तर्फ रुबिना क्षेत्रीले सर्वाधिक २ विकेट लिइन्।

नेपालले पहिलो खेलमा थाइल्यान्डसँग ८ विकेटको हार बेहोरेको थियो। नेपालको यो लगातार दोस्रो हार हो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *