राष्ट्रिय बहिरा फुटबल आगामी २५ गतेदेखि

Thankot Times

थानकोट ।

सुन्दरढोका साथी सेवाको आयोजनामा यही माघ २५ गतेदेखि राष्ट्रिय बहिरा ११–ए साइड फुटबल प्रतियोगिता हुने भएको छ ।

शुक्रबार आयोजक सुन्दरढोका साथी सेवाले पत्रकार सम्मलेन आयोजना गरी प्रतियोगिताको बारेमा जानकारी दिएको हो ।

आयोजकका अनुसार, प्रतियोगिता काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा माघ २५ र २६ गते गरी दुई दिन हुनेछ ।

प्रतियोगितामा वाग्मती प्रदेशका दुई टिमसहित कोशी, मधेस, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशबाट समान एक गरी कुल आठ टिमको सहभागिता रहेको छ ।

प्रतियोगितामा विजेतालाई ५० हजार रुपैयाँ प्रदान गरिनेछ ।

त्यसैगरी, दोस्रो र तेस्रो हुने टोलीलाई क्रमशः जनही ४० हजार र ३० हजार रुपैयाँ प्रदान गरिनेछ । साथै, प्रतियोगिताको व्यक्तिगत विधातर्फ उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर र प्रशिक्षकलाई जनही पाँच हजार रुपैयाँबाट पुरस्कृत गरिनेछ ।

प्रतियोगिताको अनुमानित बजेट ३८ लाख तीन हजार रुपैयाँ रहेको छ ।

प्रतियोगिताको औपचारिक उद्घाटन माघ २५ गते बिहान १०:३० बजे गरिनेछ ।

आयोजकले प्रतियोगिताको निम्ति पाँचबुँदे मापदण्ड समेत निर्धारण गरेको छ ।

आयोजकले बहिरा फुटबल प्रतियोगितामार्फत बहिरा अपांगता भएका फुटबल खेलाडीहरूको पहिचान गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बहिरा फुटबल प्रतियोगितामा सहभागी हुन वातावरण तयार गर्ने मुख्य उदेश्य रहेको जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *