बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि प्लानिङ ब्वाइज क्लबको पोल्टामा

Thankot Times

थानकोट ।

२६औँ संस्करणको बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि प्लानिङ ब्वाइज क्लबले जितेको छ । शनिबार (फागुन २) धरान रंगशालामा भएको फाइनल खेलमा प्लानिङले चर्च ब्वाइज युनाइटेडलाई १–० ले हराउँदै उपाधि उचालेको हो । यी दुवै काठमाडौंका क्लब हुन् ।

उपाधिसँगै प्लानिङले नगद १० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्‍यो । उपविजेता चर्च ब्वाइजले पाँच लाख रुपैयाँमा चित्त बुझायो ।

खेलको दोस्रो हाफको १८औँ मिनेटमा प्रतापसिंह राईले एकल प्रयासमा गरेको गोल नै प्लानिङलाई उपाधि दिलाउन निर्णायक बन्यो । प्रतियोगितामा पहिलो सहभागितामै प्लानिङले उपाधि जितेको हो ।

गोलकर्ता प्रताप खेलको ‘म्यान अफ दी म्याच’ घोषित भए । यसबापत उनले १० हजार रुपैयाँ पुरस्कार पाए ।

प्रताप सर्वोत्कृष्ट खेलाडी घोषित
व्यक्तिगत विधातर्फ पनि प्लानिङ ब्वाइजले वर्चस्व कायम गर्‍यो । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी फाइनलमा गोल गरेका प्रतापसिंह राई नै घोषित भए । उनलाई होन्डाको एउटा डियो स्कुटर पुरस्कार प्रदान गरियो ।

धेरै गोल गर्नेमा पनि प्रतापसँगै झापा–११ का खेलाडीद्वय राजेश दाहाल र एरोन थापामगर रहे । उनीहरूलाई १२/१२ हजार रुपैयाँ पुरस्कार प्रदान गरियो ।

प्रतियोगिताको उत्कृष्ट गोलरक्षक प्लानिङकै योगेश धिमाल, उत्कृष्ट डिफेन्डर पनि सोही टिमका निनुङमा घिसिङ घोषित भए । उत्कृष्ट मिडफिल्डर चर्च ब्वाइजका रोहन कार्की, उत्कृष्ट स्ट्राइकर चर्च ब्वाइजकै अव्यमी फकिनले, उत्कृष्ट प्रशिक्षक प्लानिङका सञ्जीत सिंह घोषित भए । उनीहरूलाई जनही २५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *