तराईका जिल्लामा आज फागु पर्व मनाइँदै
थानकोट ।
ङहरूको पर्व होली आज तराईका जिल्लाहरूमा हर्षोल्लासपूर्वक मनाइँदैछ ।
हिमाली एवं पहाडी जिल्लामा फागु पूर्णिमा मनाइएको भोलिपल्ट तराईका जिल्लामा होली मनाउने परम्पराअनुसार आज यस क्षेत्रमा यो पर्व हर्षोल्लासपूर्वक मनाउन लागिएको हो ।
आज नवलपरासी (बर्दघाट सुस्तापूर्व), नवलपरासी (बर्दघाट सुस्तापश्चिम), झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहा, उदयपुर, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुरलगायत जिल्लामा होली मनाइँदैछ ।
मगर, थारू समुदायको बाक्लो बसोबास रहेको नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा होली पर्वलाई विशेष महत्वका साथ मनाउने गरिएको छ । सबै प्रकारका भेद्भावलाई भष्म गरी परस्परमा रङ हाल्दै सबैलाई रसरङ्गले तरङ्गित तुल्याउने होली उल्लास र रङ्गीचङ्गीको पर्वका रूपमा लिने गरिन्छ ।
सबैलाई एउटै रङमा रङ्ग्याउने होली पर्व समानता र सद्भावको प्रेरणा स्रोत रहिआएको पण्डित त्रिलोचन भुर्तेलले बताए । “असत्यमाथि सत्यको, छलमाथि निश्छलताको र अधर्ममाथि धर्मको विजयको प्रतीक होलीले अनेकतामा एकता कायम गर्दै आएको छ”, उनले भने, “धार्मिक महत्त्वसँगसँगै सामाजिक सद्भाव र उमङ्ग प्रदान गर्न होलीको विशेष भूमिका रहेको छ ।”
प्राचीनकालमा वसन्तोत्सवका रूपमा स्थापित यो पर्व कालान्तरमा प्रह्लाद, कृष्ण, होलिका, ढुण्ढा आदिका माध्यमले फागु, फगुवा, होली, होरी आदि नामबाट मनाउन थालिएको भुर्तेलले बताए । रसरङ्ग, नाचगान, खानपिन, मनोरञ्जन र आफ्नो रङ्गमा अरूलाई रङ्ग्याउने, ढोल, डम्फु , मृदङ्ग बजाउँदै भेदभाव, मनोमालिन्य त्याग्दै भ्रातृत्व भावना बढाउने यस पर्वको आफ्नै गरिमा रहेको छ ।
पहाडी जिल्लामा होलीको सोमबार सार्वजनिक बिदा दिइएको भए पनि तराईका जिल्लामा आज सार्वजनिक बिदा दिइएको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा होली पर्वलाई मर्यादित, सुरक्षित र शान्तिपूर्ण बनाउनका लागि विशेष सुरक्षा योजना कार्यान्वयनमा ल्याएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक युवराज खड्काले बताए । ‘अनुमतिबिना रङ दल्ने, लोला हान्ने, अनावश्यक होहल्ला गर्ने, झैझगडा गर्ने, अभद्र व्यवहारलगायत गतिविधि गर्नेहरूलाई कारबाहीको दायरामा ल्याउनेछौं’, उनले भने।












