साफ यू-२० च्याम्पियनसिप खेल्ने नेपाली टोलीको बिदाइ
थानकोट ।
माल्दिभ्समा अप्रिल २३ देखि हुने साफ यू-२० च्याम्पियनसिप खेल्ने नेपाली टोलीको बिदाइ गरिएको छ ।
बिहीबार अखिल नेपाल फुटबल संघ (एन्फा)ले एक कार्यक्रमका बीच च्याम्पियनसिप खेल्ने नेपाली टोलीको बिदाइ गरेको हो ।
आगामी अप्रिल ८ तारिखसम्म साफ यू–२० च्याम्पियनसिपको तेस्रो संस्करण माल्दिभ्सको मालेमा हुँदै छ ।
सन् २०२४ को गत संस्करणमा फाइनलमा पुगेर पराजित भएको नेपाली टोली यसपल्ट उपाधि जित्ने लक्ष्यमा छ । मालेमा हुने च्याम्पियनसिपमा कुल सात राष्ट्रले प्रतिस्पर्धा गर्दै छन् । नेपाल समूह ‘ए’ मा छ । यो समूहमा भुटान, श्रीलंका र आयोजक माल्दिभ्स छन् । त्यसैगरी समूह ‘बी’ मा भारत र बंगलादेशसँगै पाकिस्तान छ ।
च्याम्पियनसिपका लागि नेपाली युवा टोलीले करिब एक महिनादेखि तयारी गरेको छ । समूह चरण सहज भए पनि बलिया दुई राष्ट्र भारत र बंगलादेशमध्ये एउटा टोलीलाई नेपालले सेमिफाइनलमा नै प्रतिद्वन्द्वी पाउनेछ । तर, यसपल्ट दुवै टोलीलाई हराउनेमा नेपाली युवा टोली आशावादी छ ।
नेपाली टोली : अलिक श्रेष्ठ, अनुभव पुरी, भक्तबहादुर परियार, विजय उराउँ, विज्ञान खड्का, विनायक थारु, गणेश पुलामी मगर, जोन विष्ट, निसानराज लावत, पवन पाख्रिन, पेम्बा नोर्बुभोटे, प्रशान्त मोक्तान, प्रशुन तामाङ, रन्जित लामा, रोहन मोक्तान, रोशन तामाङ, सविनकुमार लुंगेली मगर, सविन राई, सिद्धान्त खड्का, सुवास बम, सुजन बस्नेत र सुजन डंगोल















