नागढुङ्गा प्रभागका इन्स्पेक्टर अजय जङ्ग थापा उत्कृष्ठ प्रहरी घोषित
थानकोट ।
संघीय राजधानी काठमाडाैं भित्रने र यहाँबाट बाहिरिने प्रमुख सडक नाका चन्द्रागिरि नगरपालिका-२ बाँडभञ्ज्याङ्गस्थित प्रहरी प्रभाग नागढुङ्गाका प्रमुख प्रहरी निरीक्षक अजय जङ्ग थापा २०८२ फागुन महिनाका लागि उत्कृष्ठ प्रहरी घोषित भएका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडाैंले मातहतका प्रहरी यूनिटमा कार्यरत प्रहरी कर्मचारीहरूलाई कार्यसम्पादनका आधारमा हरेक महिना उत्कृष्ठ प्रहरी सम्मानका लागि प्रहरी कर्मचारी छनोट गर्दै आएको छ । जसअनुसार २०८२ फागुन महिनाका लागि प्रहरी निरीक्षक थापा उत्कृष्ठ प्रहरी कर्मचारी चुनिएका हुन् ।
सर्वसाधारण नागरिकलाई सुरक्षाको अनुभूति गराउन प्रहरी अनुसन्धानमा महत्वपूर्ण योगदान गरी आम नागरिकका माझ प्रहरी संगठनको गरिमा एवं श्रीवृद्धिमा प्रहरी निरीक्षक थापाले पुर्याएको योगदानको कदर गर्दै प्रहरी निरीक्षक थापालाई उक्त सम्मान दिइएको परिसर काठमाडाैंले जनाएको छ ।
थापाले काठमाडाैं उपत्यकाको मुख्य प्रवेशद्वारमा अवस्थित प्रहरी इकाईको नेतृत्व गर्दै अपराध नियन्त्रण, भन्सार राजश्व चुहावट रोकथाम, लागू औषध ओसारपसार तथा विक्री वितरणमा संलग्न व्यक्तिहरूको पहिचान तथा नियन्त्रणमा उल्लेखनीय भूमिका निर्वाह गरेका थिए ।
उनी २०८२ कार्तिक अन्तिम सातादेखि प्रहरी प्रभाग नागढुङ्गाको प्रमुखका रुपमा कार्यरत छन् ।















