पाल्पामा टिपर दुर्घटना हुँदा चालकसहित चार जनाको मृत्यु
थानकोट ।
पाल्पाको माथागढी गाउँपालिका-७ मा शनिबार साँझ भएको टिपर दुर्घटनामा चालकसहित चार जनाको मृत्यु भएको छ।
गम्भीर घाइते तानसेन नगरपालिका-१० का ३३ वर्षीय राजन चिदीको उपचारका क्रममा मृत्यु भएपछि मृतकको सङ्ख्या थपिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी डिएसपी होमप्रकाश चौधरीले जानकारी दिएका छन्।
उनका अनुसार यसअघि अर्घाखाँचीको शीतगंगा नगरपालिका-४ का चालक २६ वर्षीय चिन्ताबहादुर सुनार, सोही स्थानका २६ वर्षीय सुनिल विक र रुपन्देहीको देवदह नगरपालिका-२ का २६ वर्षीय सुनिल नेपालीको मृत्यु भएको थियो।
शनिबार रहबासस्थित चुनढुंगा खानीतर्फ जाँदै गरेको लु २ ख ४५२५ नम्बरको टिपर सडकबाट १०० मिटर तल खसेको थियो। उपचारका क्रममा तीन जनालाई अस्पताल पुर्याउनासाथ मृत घोषणा गरिएको थियो भने चिदीको भैरहवामा मृत्यु भएको हो।















