नेपाल र हङकङबीचकाे मैत्रीपूर्ण फुटबल खेल स्थगित
थानकोट ।
नेपाल र हङकङबीचकाे मैत्रीपूर्ण फुटबल खेल स्थगित भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले विज्ञप्ति जारी गर्दै घरेलु मैदान दशरथ रंगशालामा हुने खेल स्थगित भएकाे जानकारी दिएको हो ।
‘अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा यहि २०८२ चैत १२ गते दशरथ रंगशालामा हङकङ, चाइनासँग हुन लागेको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल स्थगित गरिएको जानकारी गराउँदछौँ’, विज्ञप्तिमा भनिएकाे छ ।
फिफा विन्डो अन्तर्गतको खेल १२ चैतमा हुने तय थियाे । तर, राष्ट्रिय खेलकुद परिषद् (राखेप) बाट रंगशाला प्रयाेगकाे अनुमति प्राप्त नभएपछि खेल स्थगित गर्नु परेकाे एन्फाले जनाएकाे छ ।

‘राष्ट्रिय खेलकुद परिषद् (राखेप) सँग एन्फाले मिति २०८२ फागुन १० गतेको पत्रमार्फत मैत्रीपूर्ण खेलको सञ्चालनको लागि रंगशाला र त्यसको खेलमैदानको लागि स्वीकृति मागेको थियो । मिति २०८२ चैत ३ गते पुन: पत्रमार्फत रंगशालाको फ्लडलाइट, स्कोर बोड र अन्य पूर्वाधारहरू खेलको लागि उपलब्ध गराइदिन पत्र पठाएको थियो । तर, एन्फाको खेलमैदान तथा रंगशाला उपलब्ध गराइदिन गरेको आग्रह र खेल सञ्चालनको स्वीकृति राखेपले नदिएकोले सो खेल स्थगित गरिएको जानकारी गराउँदछौँ’, विज्ञप्तिमा भनिएकाे छ ।















