प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटः आर्मी र एपीएफको विजयी सुरुवात
थानकोट ।
प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट राष्ट्रिय प्रतियोगिता २०२६ मा नेपाल पुलिस क्लबलाई २२ रनले हराउँदै त्रिभुवन आर्मी क्लबले विजयी सुरुवात गरेको छ ।
तल्लो मूलपानी मैदानमा टस जितेर ब्याटिङ गरेको आर्मीले निर्धारित ४७ ओभरमा ८ विकेट गुमाउँदै २४३ रन बनाएको थियो ।
आर्मीले दिएको २४४को विजयी लक्ष्य पछ्याएको पुलिस ४५।३ ओभरमा २२१ रन बनाउँदै अलआउट भएको हो । पुलिसका लागि रासिद खानले सर्वाधिक ६० रनको अर्धशतकीय पारी खेले । उनले ८२ बलमा ५ चौका र २ छक्का प्रहार गरे । ओपनर शंकर रानाले ४६ रन बनाउँदा कप्तान आरिफ शेखले ३८ रन बनाए । गुल्सन झाले १०, करण केसीले २३ र श्रवण यादवले १३ रन बनाए ।
त्रिभुवन आर्मीको लागि नरेन साउदले सर्वाधिक ३ विकेट लिए । आकाश चन्दले २ कुशल मल्ल, साहब आलम, वसिर अहमद र पवन कार्कीले १-१ विकेट लिए । त्यसअघि, ब्याटिङ गरेको आर्मीको लागि मध्यक्रमका ब्याटर वसिर अहमदले शतकीय पारी खेले । उनले ८६ बलमा ८ चौका र २ छक्का प्रहार गरे । जारी प्रधानमन्त्री कपमा शतक बनाउने उनी दोस्रो खेलाडी हुन् । पहिलो आज नै माथिल्लो मूलपानी मैदानमा जारी खेलमा एपीएफका आसिफ शेखले शतकीय पारी खेलेका थिए ।
भिम सार्कीले ६२ रनको अर्धशतकीय पारी खेले । ओपनरद्वय तृतराज दास र इम्रान शेखले क्रमशः १३ र १० रन बनाउँदै पेभेलियन फर्किए । अर्जुन साउदले १० रन बनाए । नरेन साउद २१ रनमा अविजित रहे । नेपाल पुलिसका लागि श्रवण यादवले ३ विकेट लिए । सागर ढकाल र रसिद खानले २-२ विकेट लिए । ललित राजवंशीले १ विकेट लिए ।
प्रतियोगितामा एपीएफले पनि विजयी सुरुवात गरेको छ । बागमती प्रदेशलाई ७१ रनले पराजित गर्दै एपीएफले प्रतियोगितामा पहिलो जित दर्ता गरेको हो ।
माथिल्लो मूलपानी मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको एपीएफले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २७१ रन बनाएको थियो । एपीएफले दिएको २७२ को बलियो लक्ष्य पछ्याएको बागमती प्रदेशले ४५।१ ओभरमा २०० रन बनाउँदै अलआउट भएको हो ।
बागमतीको लागि विवेक मगरले सर्वाधिक ३४ रन बनाउँदै स्टम्पिङ आउट भए ।
उनले पाँचौँ विकेटको लागि उत्तम मगरसँग ५७ रनको साझेदारी गर्दै बागमतीको क्रिज सम्हालेका थिए । ओपनरद्वय आशुतोष घिरौया र शुभ कंसाकर सस्तैमा पेभेलियन फर्किदा शिवम् तिवारीले २५ रन बनाए । इशान पाण्डे १७ र उत्तम मगरले २६ रन बनाए । सुवास खत्रीले २७ रन बनाए । रिजन ढकाल २० रनमा अविजित रहे। अन्तिम विकेटका लागि रिजन र सुवासले ५३ रनको साझेदारी गरेका थिए ।
एपीएफका लागि कप्तान रोहित पौडेल र अभिषेश गौतमले समान ३–३ विकेट लिए । कमल सिंह ऐरी, नन्दन यादव, अमर सिंह रौतेला र युवराज खत्रीले १-१ विकेट लिए । त्यसअघि, ब्याटिङ गरेको एपीएफका लागि ओपनर ब्याटर आसिफ शेखले ११४ रनको शतकीय पारी खेले । उनले १०५ बलमा १४ चौका र ३ छक्का प्रहार गरे ।
उनी प्रधानमन्त्री कप एक दिवसीय प्रतियोगिता २०२६ मा शतकीय पारी खेल्ने पहिलो खेलाडी बनेका छन् । सन्दीप जोराले ५२ रनको अर्धशतीय पारी खेले । सुमित महर्जनले १८, लोकेश बमले २९ रन बनाउँदा युवराज खत्री र कमल सिंह ऐरी क्रमशः २६ र ३ रनमा अविजित रहे ।
बागमती प्रदेशको लागि बलिङतर्फ रिजन ढकालले सर्वाधिक ४ विकेट लिए । इशान पाण्डेले २ विकेट लिँदा सोनु देवकोटा र कप्तान सन्दीप लामिछानेले १-१ विकेट लिए । बागमती प्रदेशले आफ्नो दोस्रो खेल चैत १० मा गण्डकी प्रदेशसँग खेल्नेछ । यो खेल तल्लो मूलपानी मैदानमा हुनेछ । त्यस्तै एपीएफले दोस्रो खेल नेपाल पुलिससँग चैत १० मा नै खेल्नेछ । एपीएफ र पुलिसले माथिल्लो मूलपानीमा खेल्ने छन्।















