राखेपले खोज्यो एन्फाबाट २४ घण्टाभित्रमा लिखित जवाफ
थानकोट ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई २४ घण्टाभित्र कारबाही गर्नु नपर्ने कारणसहित लिखित जवाफ पेश गर्न निर्देशन दिएको छ ।
एन्फाबाट २४ घण्टाभित्र सन्तोषजनक जवाफ नआए थप प्रशासनिक तथा कानुनी प्रक्रिया अगाडि बढाउने चेतावनी राखेपले दिएको छ ।
‘पटक पटक भएको छलफल र निर्देशनको परिपालना नगरेको हुँदा परिषद्को कार्याकारी समितिको मिति २०८-१२-०९ को बैठकबाट ऐनको दफा २८ को (ड) र दफा २९(१) बमोजिम भएको निर्देशन कार्यान्वयन नगरी प्रचलित कानून विपरित कार्य गरेको हुँदा ऐ. ऐनको दफा २९ को (२) बमोजिमको कार्बाही किन हुनु नपर्ने हो ? सो का लागि ऐ. दफाको ९७० बमोजिम पत्र प्राप्त भएको मितिले २४ घण्टा भित्र सफाई पेश गर्नका लागि पत्राचार गर्ने निर्णय भएको हुदाँ सोही बमोजिम उचित कारण सहित लिखित जवाफ पेश गर्नु हुन अनुरोध छ’ राखेप खेलकुद विकास विभाग प्रमुख सराजकुमार पोखरेलले पठाएकाे पत्रमा भनिएको छ ।
यसअघि राखेपले ५ चैतमा एन्फालाई निर्वाचन स्थगित गरेको लिखित जानकारी ३ दिन भित्र गराउनु भनी पत्र पठाएको थियो । तर, एन्फाले ८ चैतमा पत्र पठाउँदै निर्वाचन स्थगित नहुने र तोकिएको मितिमै निर्वाचन हुने जानकारी गराएको थियो ।
राखेप सदस्यसचिव रामचरित्र मेहताले सोमबार एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङ, महासचिव किरणराई लगायत विभिन्न पक्षलाई बोलाएर छलफल गरेका थिए । उक्त छलफलपछि बसेको राखेप कार्यकारी समितिको बैठकले अन्तिम पटक एन्फालाई स्पष्टिकरण पेश गर्न २४ घण्टा समय दिएको हो ।















