देशका विभिन्न स्थानमा आज र भोलि वर्षा हुने पूर्वानुमान
थानकोट ।
नेपालमा पुनः मौसम बदली भई शुक्रबार (आज) देखि देशका धेरै क्षेत्रमा वर्षा, हुरीबतास तथा चट्याङ र असिना पर्ने भएको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार शुक्रबार र शनिबार थप मौसम बदली भई वर्षा गराउने भएकाले आवश्यक सावधानी अपनाउन अनुरोध गरेको छ। विभागका सूचना अधिकारी दिनकर कायस्थले साँझबाटै बदली बढेको र शुक्रबारबाट ठाउँठाउँमा वर्षा हुने बताए।
बिहीबार साँझ गोरखा, सिन्धुपाल्चोक, कास्की, लमजुङ, सङ्खुवासभा, खोटाङ, नुवाकोटलगायत केही ठाउँमा वर्षा भएको र यो क्रम शुक्रबार रातिदेखि केही बढ्ने बताइएको छ।
महाशाखाले बिहीबार साँझ जारी गरेको मौसम बुलेटिनअनुसार शुक्रबार देशको हिमाली भू-भागमा आंशिक बादल, पहाडी भूभागमा साधारणतया बादल लाग्ने र सबै प्रदेशको पहाडी र हिमाली भूभागका केही स्थान तथा तराई भू-भागका एकदुई स्थानमा मेघगर्जन/चट्याङ/हावाहुरी/असिनासहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको जनाइएको छ।
शनिबार कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा साधारणतया बादल लाग्ने बाँकी भू-भागमा आंशिक बादल लाग्ने तथा कोशी, मधेस, बागमती प्रदेशका केही स्थान तथा बाँकी हिमाली र पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको जनाइएको छ । यो बेलामा हुरीबतास र असिनापानी तथा चट्याङबाट जोखिन पनि विभागले सबैमा अनुरोध गरेको छ।















