आजको माैसम पूर्वानुमानः केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
थानकोट ।
हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीका साथै स्थानीय वायुको प्रभाव रहेको छ ।
हाल देशभर साधारणतया बादल लागेको छ । कोशी र बागमती प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपात भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी र हिमाली भू–भागमा साधारणतया बादल लाग्नेछ भने बाँकी भू–भागमा आंशिक बादल लाग्नेछ । देशका पहाडी र हिमाली भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना छ ।
त्यसैगरी, आज राति कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी र हिमाली भू–भाग तथा अन्य प्रदेशका हिमाली भू–भागमा साधारणतया बादल लाग्नेछ । बाँकी पहाडी भू–भागमा आंशिक बादल लाग्नेछ भने तराई भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी र हिमाली भू–भाग तथा बागमती प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मशाखाले जनाएको छ ।
देशका पहाडी र हिमाली भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेकाले आवश्यक सर्तकता अपनाउन सर्वसाधारण तथा सबै सरोकारवाला निकायमा महाशाखाले अनुरोध गरेको छ ।















