आज शनिबार कतै यात्रा गर्ने तयारीमा हुनुहुन्छ ? जान्नुहोस दिनभरको मौसम पूर्वानुमान

Thankot Times

थानकोट ।

देशका केही भू-भागमा वर्षा र हिमपात हुँदा केही क्षेत्रमा उच्च गर्मीको सम्भावना छ ।

मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईलगायत अन्य केही भू-भागमा उच्च गर्मीको सम्भावना छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी, वाग्मती र गण्डकी प्रदेशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ । मधेस प्रदेशलगायत बाँकी पहाडी र हिमाली भू-भागमा आंशिक बादल लाग्नेछ । बाँकी तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ ।

कोसी प्रदेशलगायत वाग्मती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना छ ।

लुम्बिनी प्रदेशको पहाडी र हिमाली भू-भागका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू-भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको  सम्भावना छ ।

“मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई लगायत अन्य केही भू-भागमा तातो दिन हुने सम्भावना रहेको छ,” विभागले भनेको छ ।

विभागले राति देशका हिमाली भू-भागमा साधारणतया बादल लाग्ने बताएको छ । कोसी प्रदेशको पहाडी र तराईलगायत बाँकी पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ । बाँकी तराई भू-भागमा मौसम मुख्यतया सफा रहनेछ ।

कोसी प्रदेशको पहाडी र हिमाली भू-भागलगायत गण्डकी प्रदेशको हिमाली भू-भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

“अझै केही दिन मौसम अहिलेकै जस्तो रहनेछ । तत्काल अर्को प्रणाली विकास नहुने भएकाले यस्तै नै हुनेछ,” मौसमविद् डेभिड ढकालले भने, “आज पनि धनगढीमा ३६ देखि ३८ डिग्री सेल्सियसबीच तापक्रम रहनेछ ।”

उनले विभागले तातो दिन भनेर उच्चतम तापक्रम यतिसम्म पुग्छ भनेर थ्रेसहोल्ड भने नतोकेको बताए ।

हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको विभागले बताएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *